फस्टायो सुन्तला उत्पादन

सोमबार, ०२ माघ २०७९, १६ : ०८

काठमाडौँ - कृषि ज्ञानकेन्द्र भरतपुरका अनुसार चितवन जिल्लामा गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ ।

केन्द्रका सूचना अधिकारी मीनबहादुर पुनमगरका अनुसार जिल्लामा गत वर्षको तुलनामा यस वर्ष दुई सय मेट्रिकटनले सुन्तला उत्पादनमा वृद्धि भएको हो । उनका अनुसार यस वर्ष एक हजार ३७ दशमलव ५ मेट्रिकटन सुन्तला उत्पादन भएको छ । 

जिल्लाको पहाडी क्षेत्रमा १२५ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएको छ । सोही क्षेत्रफलमा गत वर्ष आठ सय ३७ दशमलव ५ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०७७र७८ मा ९५० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । जिल्लाको इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिका–२९ मा सुन्तला खेती हुने गरेको छ । 

यस वर्ष उत्पादन बढ्नुमा नयाँ रोपेका बोटले उत्पादन दिन सुरु गर्नु, कृषकले सुन्तला बगैँचामा राम्रो हेरचाह र मलजल गर्नुका कारण रहेका उनले बताए । 

उनले भने, “अघिल्ला वर्षमा सिँचाइको अभाव, बगैँचा व्यवस्थापनको कमी र पुराना बोट हुनु थियो ।” अहिले सुन्तलाका लागि उपयुक्त सिजन भएका कारणले समेत उत्पादन बढेको बताए । 

सोमबार, ०२ माघ २०७९, १६ : ०८

प्रतिक्रिया