फागुन १ देखि महेन्द्रनगरमा औद्योगिक व्यापार मेला हुने

१ बर्ष अगाडि

काठमाडौँ - आगामी १ फागुनदेखि कञ्चनपुरको महेन्द्रनगरमा औद्योगिक व्यापार मेला हुने भएको छ ।

 कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा महेन्द्रनगर खुलामञ्चमा सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव ०७९ हुने भएको हो ।

‘कृषि उत्पादन र स्वरोगार आर्थिक समृद्धिको आधार’ भन्ने मूल नाराका साथ वाणिज्य संघले १४औँ संस्करणको मेला सञ्चालन गर्न लागेको हो । यसअघि कोरोना महामारीका कारण मेला लगातार दुई वर्ष हुन सकेको थिएन । मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने बताइएको छ ।

‘देशकै ध्यान कञ्चनपुरमा गराउने उद्देश्यले हामीले प्रधानमन्त्रीज्यूबाटै मेला उद्घाटन गर्न खोजेका छौँ,’ संघका अध्यक्ष पीताम्बर जोशीले भने, ‘यस क्षेत्रमा रहेका औद्योगिक आर्थिक क्षेत्रका योजना अघि बढाउन मद्दत पुग्ने अपेक्षा छ ।’ महोत्सवमा लघु उद्यम, अटो प्रदर्शनी, कृषि गार्मेन्ट, बाल उद्यानसहित सुदूरपश्चिमको मौलिकता झल्किने लोकसंस्कृति प्रस्तुत गरिने छ  ।

महोत्सवमा तीन सय स्टल राखिनेछ । वाणिज्य संघका निर्वतमान अध्यक्ष जंगबहादुर मल्लका अनुसार मेलाको प्रतिटिकटबाट एक रुपैयाँ छुट्याएर सामाजिक काम गरिने छ ।

संघका महासचिव खगेश्वर बोहराका अनुसार मेला अवलोकनका लागि टिकटको साधारणतर्फ ८० र विद्यार्थी सहुलियतमा ४० रुपैयाँ तोकिएको छ । मेलाको मुख्य प्रयोजक प्रभु बैंक लिमिटेड, प्रयोजकमा गोर्खा ब्रुअरी, निको इन्सोरेन्स कम्पनी लिमिटेड र प्रवर्द्धकमा सनराइज बैंक र डिसहोम रहेका छन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया