काठमाडौं - म्याग्दी जिल्लाबाट यस वर्ष २० करोड रुपैया बराबरको सुन्तला निकासी भएको छ । जिल्लामा उत्पादन भएको सुन्तला जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौँ, पोखरा, मुग्लिनलगायतका बजारमा निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख किरण सिग्देलले म्याग्दीका अधिकांश बगैँचाको सुन्तला निकासी भइसकेको जानकारी दिए ।
‘सरदर प्रतिकिलो रु ६० का दरले रु २० करोड मूल्यको सुन्तला निकासी भएको अनुमान गरेका छौँ’, उनले भने, ‘अनुकूल मौसम र रोग किराको समस्या नभएको तथा फल दिने बोटसँगै उत्पादन पनि बढेको छ ।’
जिल्लाको राखु, मरेक, सुर्केमेला, बरञ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सय भन्दाबढी सुन्तला बगैँचा छन् ।
सुन्तला जोन कार्यालय म्याग्दीकी नायब प्राविधिक सहायक रुपा विकले प्रतिहेक्टर ११ मेट्रिक टनको अनुपातमा सुन्तला फलेको बताइन् । गत वर्ष दुई हजार एक सय ८० मेट्रिक टन सुन्तला उत्पादन हुँदा रु १३ करोड भित्रिएको थियो । मङ्सिरको अन्तिम सातादेखि सुन्तला टिप्न सुरु भएको थियो ।
सुन्तला टिपेर बजार पठाएपछि कृषक बगैँचा व्यवस्थापनको तयारीमा जुटेका छन् । मल हाल्ने, सिँचाइ गर्ने, मल्चिङ गर्ने, बोडोपेस्ट लगाउने र हाँगा काँटछाँट गर्ने काममा व्यस्त भएको कृषकले बताएका छन् ।
प्रतिक्रिया