काठमाडौँ – नेपालमा चिनियाँ ठेकेदारहरुले अलपत्र गरेका थुप्रै आयोजनाहरु छन् । अझ समयमा काम नसक्ने मामलामा त चिनियाँ ठेकेदारहरु नेपालमै अग्रस्थानमै पर्छन् । यसैबीच तामाकोशी(काठमाडौँ २२०/४०० केभी प्रसारण लाइन आयोजना पनि समयमा नै नसकिने देखेपछि नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्गले फिल्डमै गएर चिनियाँ ठेकेदारहरुलाई थर्काएका छन् ।
आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट सिन्धुपाल्चोकको बाह्रबिसेसम्म ४४ किलोमिटर र बाह्रबिसेबाट काठमाडौंको लप्सीफेदीसम्मको ४६ किलोमिटर ४०० केभी डबल सर्किट तथा लप्सीफेदीबाट भक्तपुरको चाँगुनारायणसम्मको १४ किलोमिटर १३२ केभी प्रसारण लाइन र बाह्रबिसेमा२२०/१३२/११ केभी सबस्टेसन निर्माणाधीन छन् भने लप्सीफेदीमा ४००/२२०/१३२र११, बाह्रबिसेमा ४०० केभी र नयाँ खिम्तीमा ४०० केभी सबस्टेसन निर्माण भइरहेको छ । तर यी काममा धेरै कैफियत देखिएको चर्चा चलिरहेका बेला र काम समयमा नै नसकिने चर्चा चलिरहेका बेला कुलमानको ‘फिल्ड भिजिट’लाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधानसहितको उच्चस्तरीय टोलीले आयोजनाअन्तर्गत बाह्रबिसे सबस्टेसनको अनुगमन भ्रमण गरी महत्त्वपूर्ण प्रसारण लाइन र सबस्टेसनको निर्माण असारभित्रमा सम्पन्न गर्न निर्देशन दिएको छ । समयमा नै काम सम्पन्न नभए त्यसको क्षतिपूर्ति दिनुपर्ने भन्दै कुलमानले ठेकेदार थर्काएका हुन् ।
चिनियाँको व्यवहार रुखो भएको, आयोजना स्थलमा स्थानीयलाई अनावश्यक गाली गलौज गरेको, र प्रशारण लाइनको मार्गधिकारका विषयमा कुरा राख्दा स्थानीयलाई चिनियाँहरुले दुर्व्यवहार गरेको गुनासोबारे पनि फिल्ड भिजिटका समयमा छालफल भएको थियो । चिनियाँ पक्षले भने स्थानीयले विभिन्न काममा अवरोध हुँदै आएको दाबी गर्दै आएको छ ।
बाह्रबिसे सबस्टेसन निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनीहरू ग्वाङसी ट्रान्समिसन एण्ड सबस्टेसन कन्स्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेकट्रोनिक्सको उपक्रमको काम सन्तोषजनक नदेखिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले उल्लेख गरेका छन् ।
‘मध्यभोटेकोसीले सबस्टेसनसम्मको प्रसारण लाइनका टावर निर्माण गरिसकेको छ, सबस्टेसन निर्माण सम्पन्न भएन भने विद्युत् कसरी प्रवाह गर्ने ? यस्तो महत्त्वपूर्ण सबस्टेसन निर्माणमा ढिलाइ गर्ने ?,’ घिसिङले ठेकेदारलाई थर्काउँदै भनेका थिए(‘यदि सबस्टेसन निर्माण सम्पन्न नभएर मध्यभोटेकोसीको विद्युत् खेर जाने अवस्था आएमा १०२ मेगावाट विद्युत् बिक्रीबाट दैनिक रूपमा प्राप्त गर्ने आम्दानी असुलउपर गरिने छ ।’
प्रतिक्रिया