हालसम्म १० लाख राष्ट्रिय परिचयपत्र छापियो, कतिले पाए  पत्र ?

१ बर्ष अगाडि

काठमाडौँ - राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले हालसम्म १० लाख बढी राष्ट्रिय परिचयपत्र छापेको छ।

विभागका निर्देशक एवम् सूचना अधिकारी कृष्ण पौडेलका अनुसार हालसम्म विभागबाट १० लाख २५ हजार बढी राष्ट्रिय परिचयपत्रको छपाइ काम सकिएको छ। त्यसमध्ये एक लाख २५ हजारले पाइसकेका छन् भने बाँकी ९ लाख कार्ड वितरणको चरणमा छ। 

अहिले काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरू (काठमाडौं, भक्तपुर र ललितपुर)सहित अछाम, गुल्मी, विराटनगर, कञ्चनपुर , मकवानपुर, स्याङ्जा, बाँके, कञ्चनपुर र कैलाली गरी १२ जिल्ला प्रशासन कार्यालयहरूबाट कार्ड वितरण हुँदैछ। 

करिब ९ लाख कार्ड छापेर सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूमा पठाउने तयारी हुँदैछ, विभागका निर्देशक पौडेल भन्छन्, अबको केही महिनामा छापिइसकेका ९ लाख वटाभन्दा धेरै राष्ट्रिय परिचयपत्र सेवाग्राहीहरूसम्म पुग्नेछ  ।

हालसम्म एक करोड १० लाख ६६ हजारले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएका छन्। विवरण दर्ता गरेको केही समयमै सेवाग्राहीले आफ्नो राष्ट्रिय परिचयपत्र नम्बर पाउँछन्। कार्डका लागि भने लामो समय प्रतीक्षा गर्नुपर्ने अवस्था छ। यसको मुख्य कारण एकैपटक धेरै कार्ड छाप्न नसक्नु हो।

निर्देशक पौडेलका अनुसार देशभरबाट विवरण संकलन भए पनि राष्ट्रिय परिचयपत्र कार्ड छपाइ विभागबाट मात्रै हुँदैछ। विभागबाट अहिले दैनिक १५ हजार वटा राष्ट्रिय परिचयपत्र छपाइ भइरहेको छ।

हामीसँग भएको मेसिन दैनिक दुई सिफ्ट गरी १५ देखि १६ घन्टा चल्छ। यो समयमा १५ हजार मात्रै कार्ड छापिन्छ। त्यसैले पनि वितरणमा ढिलाइ देखिएको हो, उनले भने।

कार्ड छपाइ र वितरण गति बढाउन तीन सिफ्टमा मेसिन सञ्चालन गर्ने तयारी रहेको उनले जानकारी दिए। दैनिक ३० हजार वटा कार्ड छाप्ने गरी मेसिन सञ्चालन गर्ने योजना बनाइएको उनको भनाइ छ।

दैनिक ३० हजार वटा छाप्न सके वितरण पनि छिट्टै हुन्थ्यो भन्ने हो,उनले भने।

अहिलेको अवस्थामा सेवाग्राहीले विवरण दर्ता गराएपछि राष्ट्रिय परिचयपत्र कार्ड पाउन १२ देखि १६ महिनासम्म प्रतीक्षा गर्नुपर्ने स्थिति छ। यो समस्या छिट्टै समाधान गर्ने योजना विभागले बनाएको छ।

 

१ बर्ष अगाडि

प्रतिक्रिया