जनमोर्चाले संघीयता विरुद्ध अभियान थाल्ने : ठूला दलहरु सत्ताको खेलमा

मंगलबार, ३० फागुन २०७९, ११ : २३

काठमाडौं –संसदमा एक सिट जितेको राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध चैत १० गतेदेखि देशव्यापी अभियान चलाउने निर्णय गरेको छ । संघीयता देशको लागि सेतो हात्ती भयो भन्ने आम नागरिको असंतुष्टि बढेको बेला जनमोर्चाको यो अभियान सुरु हुन लागेको हो । ठूला दलहरु सत्ताको लागि अस्वभाविक चलखेल गरिरहेको बेला उसको अभियानले कस्तो असर गर्ला भन्ने आम जिज्ञासा पनि छ ।

फागुन २७–२८ गते बुटवलमा बसेको जनमोर्चाको राष्ट्रिय परिषदको पहिलो बैठकले चैत १० गतेदेखि १५ गतेसम्म संघीयताविरुद्ध देशव्यापी अभियान चलाउने निर्णय गरेको हो । उक्त अभियान अन्तर्गत सभा, कोणसभाहरू गरिने अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए ।

यही अभियान अन्तर्गत चैत २४ गते जनआन्दोलन दिवसको उपलक्षमा देशव्यापी रूपमा ‘गणतन्त्रको रक्षा गरौं, प्रतिगमनका विरुद्ध संघर्ष गरौं’ भन्ने मूल नारा अन्तर्गत सभाका कार्यक्रमहरू गरिने छ ।

नेपालसहित विश्वभर देखिएको आर्थिक संकटको परिप्रेक्षमा संघीयता आर्थिक रूपले बोझिलो भएका कारण त्यसको खारेजीका लागि संघर्ष गर्ने निर्णय गरेको अध्यक्ष केसीले बताए ।

परिषद्को बैठकले अध्यक्ष चित्रबहादुर केसीले प्रस्तुत गरेको तात्कालिक राजनैतिक प्रस्ताव पारित गरेको छ । तात्कालिक राजनैतिक प्रस्तावमा गणतन्त्र र राष्ट्रियतामाथि देखिएको खतराका विरुद्ध संघर्ष गर्ने क्रममा प्रतिगमनविरुद्ध आउने सबै शक्तिहरुसँग सहकार्य गर्ने कुरामा जोड दिइएको छ ।

मंगलबार, ३० फागुन २०७९, ११ : २३

प्रतिक्रिया