२४ अर्ब भन्दा बढीको फलफूल आयात

मंगलबार, १२ बैशाख २०८०, १३ : ५२

काठमाडौँ -  नेपालमा वार्षिक २४ अर्ब भन्दा बढीको फलफूल आयात हुने गरेको छ । केन्द्रीय भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८र७९ मा २४ अर्ब १९ करोड ८५ लाख ६६ हजार रुपैयाँको फलफूल आयात भएको हो । 

  त्यस्तै, चालु आर्थिक वर्षको ९ महिनामा १४ अर्ब ३४ करोड ६० लाख १७ हजार रुपैयाँको फलफूल आयात भएको छ । उता आर्थिक वर्ष २०७४र७५ मा १४ अर्ब ६९  करोड २१ लाख १० हजार रुपैयाँ आर्थिक वर्ष २०७५र७६ मा १८ अर्ब १० करोड  ८१ दाख २४ हजार रुपैयाँको फलफूल आयात भएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७६र७७ मा २० अर्ब ७४ करोड ६२ लाख ९२ हजार रुपैयाँ, आर्थिक वर्ष २०७७र७८ मा २१ अर्ब ३४ करोड करोड ३८ लाख ३६ हजार रुपैंंयाको फलफूल आयात भएको थियो ।  

 यसरी पछिल्लो ५ वर्षको तथ्याङ्क हेर्दा झन्डै दोब्बरले फलफूल आयात भएको देखिन्छ । आयात बढ्दै जाँदा नेपाली किसानलाई भने फलफूलको उचित मूल्य पाउनै मुस्किल भएको छ । 

 कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार नेपालमा हिउँदे, वर्षे तथा सुन्तला जातका फलफूल गरी तीन भागमा विभाजन गरिएको छ । 

 आर्थिक वर्ष २०७७र७८ मा हिउँदे, वर्षे तथा सुन्तला जात गरी कुल १ लाख २८ हजार हेक्टर क्षेत्रफलमा १३ लाख ५६ हजार मेट्रिक टन फलफूल उत्पादन भएको थियो । र, उत्पादकत्व १०।५४ मेट्रिक टन प्रतिहेक्टर थियो। आर्थिक वर्ष २०७६र७७ भन्दा ८।५३ प्रतिशतले उत्पादन बढेको पाइएको छ तर फलफूलको आयात भने बढ्दै गएको छ । 

बजारमा स्वदेशी फलफूलभन्दा आयातित फलफूलको वर्चस्व भएकाले मूल्य पाउन मुस्किल भएको काभ्रे, धुलिखेल नगरपालिका–११ खस्कोटका किवी खेती किसान तिला पोख्रेल बताउँछन्। 

पोख्रेलले २०६१ सालदेखि करिब २० रोपनी जग्गामा ३५ लाखमा लगानीमा व्यावसायिक किवी खेती गर्दै आएका छन् । वार्षिक ७ मेट्रिक टन किवी उत्पादन गर्दै आएको उनले बजारमा प्रतिकेजी एक सय रुपैयाँमा पनि किवी विक्री हुन मुस्किल भएको विवशता पोख्छन् ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ का शम्भु नेपाल एक दशक अघिदेखि कागती खेती सुरु गरेका छन् । उनले वार्षिक ६ मेट्रिक टन कागती विक्री गर्दै आएका छन् । तर, बजारमा भारतीय कागतीले यहाँको कागतीले उचित बजार पाउन नसकेको उनको भनाई छ । 

‘हाम्रो ठूलो बजार भनेको काठमाडौँ हो । अरू सहरमा खासै कागती विक्री हुँदैन ।’ नेपालले भने, ‘यहाँका किसानलाई सरकारले प्राथमिकता दिनुपर्नेमा उल्टै नेपाली कागतीमा सिन्डिकेट लगाउने अनि भारतीय कागती ल्याएर बेच्ने गरिएको छ ।’

झापाको बाह्रदशी गाउँपालिका–७ का मदन लिम्बूले ७ विगहामा क्षेत्रफलमा कागती खेती गर्दै आएका छन् । व्यापारीले कागतीको मूल्य नै नदिने गरेको विवशता दर्साउँदै लिम्बूले भने, ‘व्यापारीले प्रतिगोटा एक रुपैयाँको दरले किन्छन् ।’ यसबाट लागत उठ्नै गाह्रो हुने उनको भनाई छ ।

लिम्बूले यसपालि १० लाखको कागती विक्री गरे । यो भन्दा बढी कागती खेती विस्तार गर्ने उनको सोच छैन। भन्छन्, ‘बजार भारतीय कागतीले भरिएको छ। भारतीय कागतीभन्दा हाम्रो मूल्य बढी भए पनि राम्रो गुणस्तरीय छ तर व्यापारीले सस्तो खोज्छन् ।’

मंगलबार, १२ बैशाख २०८०, १३ : ५२

प्रतिक्रिया