सवा १ अर्बको ताजा तरकारी आयात

शनिबार, १६ बैशाख २०८०, १४ : ०१

काठमाडौँ - माग अनुसारको उत्पादन नहुँदा नेपालमा अर्बौँ रुपैयाँको ताजा तरकारी आयात हुने गरेको छ। हरेक वर्ष गोलभेँडा, बन्दा, काउली, ब्रोकाउली, मुलालगायत ताजा तरकारी आयातको ग्राफ बढ्दै गएको छ । केन्द्रीय भन्सार विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा गरी कुल ८५ हजार सात सय ३५ मेट्रिक टन बराबरको एक अर्ब ३० करोड २८ लाख ११ हजार रुपैयाँको ताजा तरकारी आयात भएको छ । 

   गत आर्थिक वर्षमा ४७ हजार ७ सय ६१ मेट्रिक टन बराबरको कुल ६३ करोड ५० लाख ५२ हजारको ताजा तरकारी आयात भएको थियो। त्यसैगरी, चालु आर्थिक वर्षमा ३७ हजार ९ सय ७४ हजार मेट्रिक टन बराबरको ६६ करोड ७७ लाख  ५९ हजार रुपैयाँको ताजा तरकारी आयात भएको छ । 

 गत वर्षको तुलनामा चालु आर्थिक वर्षको नौ महिनामै करिब तीन करोड भन्दा बढीको तरकारी आयात भएको देखिन्छ। 

 कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७७र७८ मा ताजा तरकारी बालीहरूमध्ये काउली, बन्दा, ब्रोकाउली, गोलभेँडा तथा मुलालगायत कुल कुल २ लाख ८४ हजार हेक्टर क्षेत्रफलमा तरकारी बाली लगाइएकोमा ३९ लाख ९३ हजार मेट्रिक टन तरकारी उत्पादन भएको छ । सरदरमा उत्पादकत्व १४.०५ मेट्रिक टन प्रतिहेक्टर रहेको छ । आर्थिक वर्ष २०७६र७७ भन्दा उत्पादन ०.७८ प्रतिशतले बढेको छ ।

 सरकारले ताजा तरकारीका लागि हरेक वर्ष प्राथमिकता दिँदै आएको र अहिले उत्पादन पनि बिस्तारै बढ्दै गएको राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रका प्रमुख वासुदेव काफ्लेले बताए । प्रदेश सरकार र स्थानीय सरकारले पनि ताजा तरकारी उत्पादन कार्यक्रम प्राथमिकतामा राख्नुपर्ने उनको सुझाव छ । सरकारले किसानलाई प्राथमिकता दिनुपर्छ। उनले भने, ‘अनि मात्र उत्पादन बढाएर निर्यात प्रतिस्थापन गर्न सकिन्छ ।’

 

शनिबार, १६ बैशाख २०८०, १४ : ०१

प्रतिक्रिया