विवादित घोराही सिमेन्ट प्रति स्थानीयको आक्रोस

कम्पनीनै बन्द गर्ने चेतावनी

सोमबार, १८ बैशाख २०८०, १२ : ३९

काठमाडौँ- प्रिमियममा आईपीओ निष्कासन गर्न लागेको घोराही सिमेन्ट इन्डष्ट्रिजको प्रभावित क्षेत्रका वासिन्दाले सेयर खरिद नगर्ने चेतावनी दिएका छन् ।

२०६९ सालबाट उत्पादन सुरु गरेको घोराही सिमेन्ट इन्डष्ट्रिजले उद्योग प्रभावित क्षेत्र घोराही उप–महानगरपालिका वडा नं. १, २, ३, ४, १४, १५, १७, १८, १९, बंगलाचुली गाउँपालिका वडा नं. ३, ४ र रोल्पाको त्रिवेणी गा.पा. वडा नं. ३, ४ का स्थानीयहरुका लागि साधारण शेयर निष्कासन गरेको छ । उद्योगले निष्काशन गर्न लागेको ७९ लाख ४३ हजार आठ सय एक कित्तामध्ये सात लाख ५४ हजार छ सय ६१ कित्ता शेयरहरु स्थानीय बासिन्दाहरुका लागि बिक्री गर्न लागेको छ ।

आइतबार घोराही उपमहानगरपालिका–४ वडा कार्यालयले गरेको छलफलमा उद्योग प्रभावित क्षेत्रका वासिन्दाले मानवीय तथा वातावरणीय रुपमा गम्भीर असर गरिरहेको भन्दै उद्योगलाई हटाउने चेतावनी दिएका छन् ।


 ‘बीच बस्तीमा उद्योग स्थापना गर्दा मानवीय स्वास्थ्यमा असर परिरहेको र स्थानीयमा क्यान्सर र छाला रोग देखिएको छ । स्थानीय भने, ‘पानीका मुहानका सुक्न थालेका छन् । अन्नबाली पनि हुन छाडे अहिले सेयरका नाममा स्थानीयलाई लोभ्याउँन खोजिदैछ ।’

घोराही उपमहानगरपालिका–४ का अध्यक्षले उद्योग प्रभावितहरुसँग छलफल गरी सेयर खरिद नगर्ने निर्णय गरिएको बताए । उनले उद्योगको एक अर्ब भन्दा बढी विद्युत महशुल बक्यौता बाँकी भएको र त्यही महशुल बुझाउनका लागि जनताबाट शेयर आह्वान गरिएको आरोप  पनि लगाएका छन्।


‘सेयरका नाममा यहाँका जनतालाई फेरि पनि झुक्याएर पैसा असुल्न खोजिएको र ‘यसअघि पनि स्थानीयलाई झुक्याएर बस्तीको बीचमा उद्योग स्थापना गरेको भन्दै स्थानियले घोर विरोध गरेका छन् ।’ अब भने वस्तीबाट उद्योग नै हटाउने गरी आफूहरुले आन्दोलन गर्ने स्थानियले चेतावनी समेत दिएका छन् । 

उसो त  घोराही सिमेन्टमा विशाल र संघई समूहको लगानी रहेको छ । जुन समुह आफैँमा विवादित समुह हो । यस कम्पनीले आईपीओ निष्कासन गर्दा आफ्नै रेटिङ कम्पनीद्धारा रेटिङ गरेको छ । यसरी आफ्नो कम्पनीको मूल्याङ्कन आफैँ गरेकोले कम्पनी विवादमा आएको स्रोतले जनाएको छ । 

यस विषयमा पटक पटक जानकारी लिन खोज्दा त्यहाँका कर्मचारीको फोन उठेको छैन ।   

सोमबार, १८ बैशाख २०८०, १२ : ३९

प्रतिक्रिया