शिवम सिमेन्टको नाफामा पहिरो

शुक्रबार, २९ बैशाख २०८०, १० : ०७

काठमाडौँ- शिवम सिमेन्ट लिमीटेडको नाफामा पहिरो गएको छ ।

 कम्पनीले आज प्रकाशित गरेको चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरणअनुसार नाफा घटेर ३१ करोड ९९ लाखमा सीमित बन्न पुगेको हो । 

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खूद नाफा ६५ करोड ४८ लाख रुपैयाँभन्दा माथि थियो । यसरी हेर्दा अघिल्लो वर्षको तुलनामा यो कम्पनीको खूद नाफा ५१.१४ प्रतिशतले घटेको देखिन्छ । 


कम्पनीको सञ्चालन आम्दानीमा तीव्र गिरावट आउँदा त्यसको असर नाफामा परेको देखिन्छ । समीक्षा अवधिमा शिवम सिमेन्टको सञ्चालन आम्दानी ५ अर्ब ४५ करोडमा सीमित बन्न पुगेको छ, जब कि यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षको यही अवधिमा ७ अर्ब २५ करोड रुपैयाँभन्दा माथि थियो । 

अन्य आयमा पनि अघिल्लो वर्षको तुलनामा गिरावट आएको छ । 

अघिल्लो वर्षको यही अवधिमा ६ अर्ब ५१ करोड रहेको कुल खर्चलाई घटाएर ५ अर्ब ४७ करोडमा सीमित गराउने सफलता पाए पनि भनेजस्तो आम्दानी हुन नसक्दा कम्पनीको वित्तीय स्वास्थ्यमा नराम्रो क्षति पुगेको देखिन्छ । 

यो कम्पनीको चुक्तापूँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ भने सेयर प्रिमियमको रुपमा ९५ करोड ६२ लाख रुपैयाँभन्दा बढी रकम सञ्चितीको रुपमा रहेको छ । अघिल्लो वर्ष ३ अर्ब ८२ करोड रहेको अन्य रिजर्भको आकार भने घटेर यो वर्ष ३ अर्ब ७३ करोडमा सीमित बनेको छ । 

नाफामा पहिरो गएका कारण शिवम सिमेन्टको वार्षिकीकृत प्रतिसेयर आम्दानी घटेर  ९।६९ रुपैयाँ कायम भएको छ । तरलता अनुपात १।४१ प्रतिशत रहेको छ भने प्रतिसेयर नेटवर्थ २०६।६४ रुपैयाँ कायम भएको छ । 

शुक्रबार, २९ बैशाख २०८०, १० : ०७

प्रतिक्रिया