काठमाडौँ - नेपाली उत्पादनको पहिलो विद्युतीय मोटरसाइकल यात्री गुड्दागुड्दै च्यासिस् भाँचिएपछि बजारमा तरंग फैलिएको छ । उसो त केहीँ दिनअघि मात्र व्यवस्था परिमार्जन गर्दै सरकारले दर्ता (नम्बर प्लेट)दिने व्यवस्था गरेको थियो । केही पार्टसहरु विदेशबाट आयात गरी डिजाइनसहित च्यासिस् आफैंले उत्पादन गरेर मोटरसाइकल बनाएको यात्रीको सोही च्यासिस् नै भाँच्चिएपछि सुरक्षामाथि प्रश्न उठेको हो ।
तर, यात्री कम्पनीले उक्त दुर्घटना बेचिएको मोटरसाइकलमा नभएर कम्पनीले नै परीक्षण गर्ने क्रममा रहेको जनाएको छ । ‘दुर्घटनामा परेको बाइक फस्ट पोर्टटाइपको मोडल हो, जुन पहिलोपटक उत्पादन गरिएको बाइक हो । यो आफैंमा सुरक्षा परीक्षणका क्रममा रहेको थियो’ कम्पनीका इन्जिनियर ठाकुर पौडेलले रातोपाटीसँग भने, ‘यो पछि हामीले यस्ता ८ वटा पोर्टटाइपको मोडल उत्पादन गरिसकेको र परीक्षणमा उत्कृष्ट रहेको छ ।’
पौडेलका अनुसार दुर्घटनामा परेको मोटरसाइकल यात्रीको पी १ मोडल हो । जुन मोटरसाइकल करिब १ लाख किलोमिटर गुडिसकेको छ । सोमबार परीक्षणकै क्रममा राइडर अविषेक शाहीले चलाउँदै गर्दा उक्त मोटरसाइकल दुर्घटनामा परेको थियो । यात्री मोटरसाइकलका झण्डै १०० वटा मोटरसाइकल बजारमा गुडिरहेको कम्पनीको दाबी छ ।
प्रतिक्रिया