कोशी प्रदेशका उद्योगको क्षमता उपयोग घट्यो

मंगलबार, १२ असार २०८०, ०७ : ३८

काठमाडौं - चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कोशी प्रदेशका उद्योगहरुको औसत क्षमता उपयोग घटेको छ । केन्द्रीय बैंकको अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनअनुसार पुस मसान्तसम्म कोशी प्रदेशका उद्योगहरुको औसत क्षमता उपयोग ४०.६% रहेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलानमा यो ८.३% विन्दुले घटेको हो ।

गत आर्थिक वर्षको पहिलो ६ महिनामा उक्त प्रदेशमा सञ्चालन भएका उद्योगहरुको औसत क्षमता उपयोग ४८.९% रहेको थियो । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा खासगरी इट्टा, वनस्पति घिउ, भटमासको तेल, कच्चा छालाजस्ता वस्तु उत्पादन गर्ने उद्योगको क्षमता उपयोगमा कमी आएको केन्द्रीय बैंकले जनाएको छ ।

कोइलाको आपूर्तिमा भएको ढिलाई तथा मागमा आएको कमीको कारण इट्टाको उत्पादनमा कमी आएको छ । भारतीय बजारमा निर्यात हुने गरेको भटमासको तेलले भारतीय बजारको उत्पादनसँग मूल्यमा प्रतिस्पर्धा गर्न नसकेको कारण त्यसको उत्पादनमा समेत कमी आएको राष्ट्र बैंकले प्रस्ट्याएको छ ।

प्रतिवेदन अनुसार गत वर्षको पहिलो ६ महिनाको तुलनामा समीक्षा अवधिमा कोशी प्रदेशका उद्योगमध्ये प्रशोधित चिया उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ८५.४% रहेको छ । इट्टा र वनस्पति घिउ उत्पादन गर्ने उद्योगहरुको क्षमता उपयोग सबैभन्दा कम क्रमशः शून्य प्रतिशत र ५.१% छ ।

मंगलबार, १२ असार २०८०, ०७ : ३८

प्रतिक्रिया