किन घटिरहयो चिडियाखानाको करोडौं आम्दानी ? यस्तो छ कारण

९ महिना अगाडि

काठमाडौं - गत आवमा सदर चिडियाखानामा १० लाख ८६ हजार छ सयले अवलोकन गरेका थिए , उक्त अवलोकनबाट १७ करोड ७५ लाख ७१ हजार आम्दानी गरेको थियो  ।

तर आर्थिक वर्ष २०७९ र ८० मा जावलाखेलस्थित सदर चिडियाखानाले १७ करोड ७५ लाखभन्दा बढी आम्दानी गरे पनि लक्ष्यमा पुग्न भने सकेन । सदर चिडियाखानाको आम्दानी भनेकै अवलोकनकर्ताले प्रवेश शुल्कस्वरूप तिरेको रकम नै स्रोत हो । यो आम्दानी अघिल्लो आर्थिक वर्षको भन्दा तीन करोड बढी हो । गत आर्थिक वर्षका लागि २० करोडको लक्ष्य लिएको चिडियाखानाले लक्ष्यभन्दा तीन करोड कम आम्दानी गरेको चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाले जानकारी दिएका छन् ।

अघिल्लो आर्थिक वर्षमा आठ लाख ४३ हजार छ सय ३० ले चिडियाखानाको अवलोकन गर्दा १४ करोड १८ लाख ४२ हजार आम्दानी भएको थियो । विगतका तीन वर्षमा कोरोनाका कारण अवलोकनकर्तामा कमी आएकाले आम्दानी कम भएको थियो । गत आवमा उलेख्यरूपमा अवलोकनकर्ता आएकाले आम्दानी बढेको सूचना अधिकारी कोइरालाको भनाइ छ ।

कोरोनाको त्रास हटेसँगै दैनिक तीन हजार अवलोकनकर्ता आउने गरेका छन् । अवलोकनकर्ता बढेकाले विगत वर्षमा भन्दा यस वर्ष बढी आम्दानी भएको हो ।अवलोकन गर्न विदेशीका लागि सात सय ५०, सार्क देशका लागि पाँच सय, नेपालीलाई दुई सय तथा नेपाली विद्यार्थी र ज्येष्ठ नागरिकका लागि ९० शुल्क निर्धारण गरिएको छ ।

अवलोकनबाट उठ्ने शुल्कबाट नै चिडियाखानाले कर्मचारीलाई तलबभत्ता र जीव, जनावरलाई खाना खुवाउनेलगायत व्यवस्थापनको काम गर्दै आएको छ।चिडियाखानामा एक सय १० प्रजातिका एक हजार ६८ जीव, जनावर रहेका छन् । त्यहाँका मुख्य आकर्षणका रूपमा बाघ, भालु, चितुवा र रातो हाब्रे हुन् ।

यहाँ रहेका जीव जनावर तथा पशु पन्छीमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी राखेको छ ।

विसं २०११ देखि सर्वसाधारणका लागि खुला गरिएको चिडियाखानाको विसं २०५२ देखि व्यवस्थापनको जिम्मेवारीसहित राष्ट्रिय प्रकृति संरक्षण कोषबाट सञ्चालित छ तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जुद्धशम्शेर जङ्गबहादुर राणाले सन् १९३२ मा यो चिडियाखाना स्थापना गरेका हुन् ।
 

९ महिना अगाडि

प्रतिक्रिया