काठमाण्डौ- एनसेलले हरेक वर्ष बाढीपहिरोको उच्च जोखिम रहेका स्थानहरुमा बसोबास गर्ने जनसमुदायलाई बाढीको जोखिमबारे एसएमएस मार्फत पूर्वसूचना प्रवाह गर्दै जनधनको क्षति न्यूनीकरण गर्न योगदान पुर्याउँदै आएको छ।
यो वर्ष एनसेलले वर्षायामको सुरुवातपछि गत २ महिनामा ४४ लाख वटाभन्दा बढी बाढीसँग सम्भावित जोखिमबारे एसएमएसमार्फत पूर्वसूचना प्रवाह गरेको छ। यो वर्ष एसएमएसमार्फत पूर्वसूचना प्रवाह गरिएका क्षेत्रहरुमा नारायणी, कंकाई, बाग्मती, बबई, राप्ती, कोशी, कर्णाली लगायत मुख्य नदीका तटीय क्षेत्र र वरपरका समुदायहरु रहेका छन्। एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएआर) अन्तर्गत जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा २०७३ देखि नै पूर्वसूचना प्रवाह गदै आएको छ।
एनसेल र विभागको यस पूर्वसूचना प्रणाली सहकार्यअन्तर्गत, एनसेलले विषेशगरी वर्षायाममा जोखिमसम्बन्धी पूर्वसूचना एसएमएसमार्फत प्रवाह गर्दै आएको छ। यस पूर्वसूचना प्रणालीले जोखिम क्षेत्रभित्र रहेका मानिसहरुलाई आ–आफ्ना सामानहरु लिएर सुरक्षित स्थानमा जानलाई अग्रिम जानकारी दिन्छ। त्यसैगरी विपद् पूर्वयारी तथा प्रतिकार्यमा संलग्न संघ–संस्थाहरुलाई समयमा नै आवश्यक कार्य गर्न सहयोग पुर्याउँछ। पानीको सतह सामान्यअवस्थामा फर्किएपछि पनि तत्काल कुनै खतरा नरहेको जानकारी त्यस क्षेत्रका मानिसले एसएमएसमार्फत पाउँछन्।
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘नेपाली जनता र समुदायको सेवा गर्न एनसेल सधैँ प्रतिबद्ध छ। हाम्रो प्राविधिक विशेषज्ञता र नेटवर्क पहुँचको सदुपयोग गर्दै समयमा नै बाढीको पूर्वसूचना प्रवाहमार्फत बाढी र त्यसबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणको लागि सहयोग गर्न पाएकोमा हामी खुसी छौँ। एनसेल र विभागबीचको यो सहकार्य, सार्वजनिक–निजी साझेदारीमा कसरी जनसमुदायका लागि प्रभावकारी कार्यहरु गर्न सकिन्छ भन्ने एक ज्वलन्त उदाहरण बनेको छ।”
जल तथा मौसम विज्ञान विभागले आफ्ना टेलिमेन्ट्री स्टेसनहरुमार्फत नदीमा पानीको सहतको अनुगमन गर्दै त्यसको जोखिमका आधारमा भिन्ना भिन्नै एसएमएस कन्टेन्ट एनसेललाई उपलब्ध गराउँदछ र त्यसै अनुरुप एनसेलले तोकिएको जोखिम क्षेत्रमा रहेका एनसेल ग्राहकहरुलाई तत्काल त्यो सूचनालाई सर्टकोड ११५५ बाट एसएमएस पठाउँछ।
११५५ जल तथा मौसम विज्ञान विभागको टोल फ्रि नम्बर हो। यसमा कल गरेर पनि नदीमा पानीको सहतको स्थिती र बाढीको जोखिमका बारेमा निःशुल्क जानकारी लिन सकिन्छ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार सम्भावित सबै घरधुरी जीएसएम मोबाइल सेवाको पहुँचभित्र रहेकाले एसएमएसमार्फत बाढीको जोखिम सम्बन्धी प्रवाह गरिने जानकारी पूर्वसूचना प्रणालीको प्रभावकारी माध्यममध्ये एक बनेको छ। यस महान कार्यमा सहकार्यका लागि महाशाखाले एनसेललाई धन्यवाद दिएको छ।
महाशाखाका अनुसार जोखिम क्षेत्र भनेर पहिचान गरिएका क्षेत्रहरुभित्र रहेका जनसुदायबाहेक, राष्ट्रिय आपतकालीन कार्य संचालन केन्द्रजस्ता विपद् जोखिम न्यूनीकरण कार्यमा संलग्न संस्थाहरु पनि आवश्यक पूर्वतयारी र प्रतिकार्यका लागि यस्ता एसएमएस अलर्ट पठाइन्छ।
प्रतिक्रिया