काठमाडौं- सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले विद्युतिय माध्यमबाट बीमालेख जारी गर्न तथा दाबी फर्छयौट गर्न एसपीआइएल डिआइजीआइ प्रणाली प्रचलनमा ल्याएको छ ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका अध्यक्ष सुरेशलाल श्रेष्ठद्वारा संयुक्त रुपमा एक समारोहबीच एसपीआईएल–डिजी प्रणालीको शुभारम्भ गरेका हुन्।
सरल र सहज बीमा सेवा प्रदान गर्ने मुख्य उद्देश्यका साथ नेपाली बीमा जगतमा पहिलो पटक प्रचलनमा ल्याएको एसपीआईएल–डिजीको प्रयोगले बीमितहरुले सहज रुपमा अनलाइनबाटै बीमालेख खरिद गर्न सक्नेछन् भने निश्चित रकमसम्मको बीमा दाबी फर्छ्यौट गरी भुक्तानीसमेत प्राप्त गर्न सक्नेछन्।
शुभारम्भ समारोहमा अध्यक्ष सिलवालले कम्पनीको प्रयासलाई सराहना गर्दै यसलाई प्रभावकारी रुपमा सञ्चालन गर्न शुभकामना दिए। कम्पनीका अध्यक्ष श्रेष्ठले कम्पनीले विद्युतीय माध्यमबाट प्रभावकारी बीमा सेवा प्रदान गर्न क्रियाशील रहेको बताए।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीले क्रमिक रुपमा बीमा सेवालाई प्रविधियुक्त बनाउने कम्पनीको लक्ष्यअनुरुप यो पहिलो प्रयास भएको र यसलाई अझ प्रभावकारी बनाउनेतर्फ थप क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे।
एसपीआईएल–डिजी डिजिटल प्रणाली भएको हुँदा अनलाइन भुक्तानीमार्फत कम्पनीमा बीमाशुल्क भुक्तानी गरी भौतिक रुपमा उपस्थिति विना बीमालेख खरिद गर्न सकिनेछ। बीमितले निश्चित रकमसम्मको बीमा दाबी फर्छ्यौट गरी भुक्तानी लिन र बीमा दाबीको अवस्थाका बारेमा जानकारीसमेत लिन सक्नेछन्।
प्रतिक्रिया