राष्ट्रपति रामचन्द्र पौडेलसँग कोरियाको सामसङ कम्पनीका ग्लोबल प्रेसिडेन्ट सिउङ ही पार्कले सोमवार शिष्टाचार भेट गरेका छन् । उक्त भेटमा राष्ट्रपति पौडेलले कोरियाले गरेको विकासको प्रशंसा गर्दै सूचना प्रविधिका विभिन्न पक्षमा चासो राख्नुभएको थियो ।
राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा पार्कले सामसुङ कम्पनीले नेपालमा सञ्चालन गरेको विभिन्न उत्पादन तथा सोसम्बन्धी गतिविधिबारे संक्षिप्तमा जानकारी गराएका थिए ।
सो अवसरमा उनले नेपालमा सञ्चालन गर्न सकिने उद्योग, नेपाली विद्यार्थीलाई उच्चस्तरको सूचना प्रविधिसम्बन्धी तालीमका सम्भावनाका विषयमा प्रष्ट पारेका थिए । भविष्यमा सामसङ कम्पनी र नेपालबीच हुन सक्ने सहयोग र सूचना प्रविधि तथा औद्योगिक उत्पादन सम्बन्धी योजनाबारे पनि पार्कले सो अवसरमा जानकारी गराएका थिए ।
सोही अवसरमा सामसङका उपाध्यक्ष द्वय ह्युङ वु ली र सुङ जुन पार्क, प्रबन्ध निर्देशक ह्यून ली, नेपालका लागि कोरियाली राजदूत थेयङ पार्क, गोल्छा समूहका अध्यक्ष शेखर गोल्छा लगायतको उपस्थिति थियो ।
प्रतिक्रिया