भोलिदेखि द्रुत सरकारी बस सेवा सुरुः छुट्टै लेन,रातो बत्तिमा नरोकिने

मंगलबार, ०२ असोज २०८०, १० : ३१

सरकारले ३ असोजमा संविधान दिवसको अवसर पारी सूर्य विनायक रत्नपार्क सडक खण्डमा द्रुत बस सेवा सञ्चालनको तयारी गरेको छ । यसका लागि सडक विभागले सडकमा मार्किङको काम गरिरहेको छ भने यातायात व्यवस्था विभागलाई २५ वटा ठुला बसको व्यवस्थापन गर्ने जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दिएको छ ।

यस्तो बस सेवा सञ्चालनमा ल्याउने गरी अहिले सडकमा मार्किङको काम भइरहेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले जानकारी दिएका छन् । लेनमा आवश्यक भौतिक तयारी पूरा भएको जानकारी ढकालले दिएका छन् ।

सडक विभागका प्रवक्ता रामहरि पोखरेलका अनुसार  यो लेनमा दैनिक बिहान ९ बजेदेखि ११ बजे र साँझ ४ बजेदेखि ६ बजेसम्म द्रुत बस सेवा सञ्चालन हुनेछ । द्रुत बसहरू चल्ने लेनमा दुई९दुई सय मिटरमा रेड मार्क गरिएको छ जानकारी पनि उनले दिए । खास गरी कार्यालय समयलाई ध्यानमा राखी द्रुत बस सेवा चलाउन लागिएको उनको भनाई छ ।

यसरी रेड मार्किङ गरेको सडकमा द्रुत बस सेवा सञ्चालनको समयमा अन्य सवारी साधन गुड्न नपाउने उनले बताए । ‘त्यस्तै चोक चोकमा हुने ट्राफिक लाइनमा पनि यी बस रोकिनुपर्ने छैन,ट्राफिक प्रहरीले एम्बुलेन्सलाई जसरी नै लाइट पास गराउनेछन्’, उनले भने ।

हाललाई यस्ता बसमा द्रुत सेवा लेखेर सञ्चालन गरिने र पछि एकै रङका बस चलाइने तयारी भएको स्रोतको भनाई छ। ‘संविधान दिवसका दिनबाट ट्रायलका रूपमा द्रुत बसहरू चलाइने छ। एक सातापछिबाट भने पूर्णपुरमा सञ्चालन हुनेछ।

द्रुत सेवा सञ्चालनका लागि तीन मिटरको डेडिकेटेड  लेन नै छुट्टाइएको छ । ‘सूर्य विनायकदेखि मनोहरा पुलसम्म सडकको बायाँ लेनलाई डेडिकेटेडमा  रुपान्तरण गरिएको छ । मनोहरा पुलदेखि माइतीघरसम्म सर्भिस लेनलाई नै डेडिकेटेडमा  परिणत गरिएको छ र माइतीघरदेखि रत्नपार्कसम्म वानवे भएकाले दायाँ पट्टीको लेनलाई डेडिकेटेडमा परिणत गरिएको छ ।

मंगलबार, ०२ असोज २०८०, १० : ३१

प्रतिक्रिया