काठमाडौँ- बडा दशैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।
नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्म शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्ती देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने छ ।
चन्द्रघण्टा देवीको स्वरुप पहेँलो वर्णको हुन्छ । यस्ती देवीले अत्याचारी दानवी स्वरुपलाई नाश गर्ने विश्वास गरिन्छ । चन्द्रघण्टा देवीको पूजा आराधनाका दिन मणिपुर चक्रलाई ध्यान गरिन्छ । चन्द्रघण्टा देवीको स्वरुपको ध्यान गर्दा अनेकौँ शक्ति प्राप्त हुने विश्वास गरिन्छ ।
नवरात्रको पहिलो दिन आइतबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । घटस्थापनाको अर्थ देवीको ध्यान साधनामा स्थापित हुनु पनि हो भन्ने श्रीमद्देवीभागवत लगायत पुराण एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यही शास्त्रीय वचनका आधारमा धेरै भक्तजनले नवरात्रमा घर एवं शक्तिपीठमा देवीको साधना गरेर बिताउँछन् ।
घटस्थापना गरिएको दिन घडामा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन सोमबार पूजा स्थलमा नवदुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । तेस्रो दिन आज चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिँदै छ ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडा दसैँ पर्व मनाउँछन् ।
प्रतिक्रिया