यस वर्षको तिहारमा मालामा खपत बढ्ने, कस्तो छ बजारमा फूल मालाको सम्भावित मूल्य

बुधबार, १५ कार्तिक २०८०, ०७ : १५

हिन्दु नेपालीहरूले मनाउँदै आएको तिहार सुरु हुन चानचुन दुई साता मात्रै बाँकी छ यो समयमा फूल किसानलाई तिहारको तयारीका लागि फूल टिप्न र माला बुन्न चटारो भएको छ । 

गत वर्षको तुलनामा यस वर्ष नेपाल सयपत्री, मखमली, गोदावरी लगायतका फूलका मालामा करिब आत्मनिर्भरको नजिक रहेको व्यवसायीहरूको भनाई छ !  नेपालमा  यस वर्ष ३५ लाख सयपत्री माला, ४ लाख ५० हजार थान मखमली माला, २० हजार गोदावरी माला र ३० हजार हाराहारी मिक्स माला खपत हुने देखिएको छ। 

सरकारले यस वर्षदेखि मूल्य अभिवृद्धिको सीमा तोकेका कारण फूल र मालाको मूल्य बढ्ने अवस्था रहेको व्यवसायीहरूको दाबी छ। यस वर्ष बजारमा सयपत्री माला एक मिटरको थोक मूल्य ७५ र खुद्रा मूल्य १२५ देखि १५० रुपैयाँसम्म पर्ने देखिएको एसोसिएसनको भनाई छ  । 

त्यस्तैगरि,मखमलीको मालाको मूल्य थोकमा ४५ र खुद्रामा ६० देखि ७० रुपैयाँ पर्ने देखिएको छ । मिक्स माला होलसेलमा ३ सय र खुद्रामा ५ सय रुपैयाँसम्म पर्न जाने र गोदावरी फूलको मालामा भने एक हजार रुपैयाँबाट सुरु भएर ३ हजार रुपैयाँसम्म पर्ने एसोसिएसनले अनुमान लगाएको छ ।

अहिले मूल्य अनुमान गरिएको माला एक मिटर आकारको भएको पनि एसोसिएसनले जनाएको छ । यद्यपि काँठ क्षेत्रका किसानले ३ देखि ४ मिटरसम्मको माला पनि बिक्री गर्ने भएकाले मालाको मूल्य थप महँगो हुन सक्ने देखिएको छ । मालाको गुणस्तर र छनोटमा भने उपभोक्ता स्वयम चनाखो हुनुपर्ने एसोसिएसनको भनाइ छ ।

नेपालमा अहिले करिब ४४ हजार मानिसहरू पुष्प खेती र व्यवसायमा छन् । नेपालका ४८ जिल्लाका २२१ हेक्टर क्षेत्रफलमा व्यावसायिक फूल खेती गरिएको छ भने यसमा ११ सय १६ जना पुष्प व्यवसायीहरू संलग्न छन् ।

गत वर्ष नेपालमा ३ अर्ब ७ करोड रुपैयाँ बराबरको पुष्प व्यवसायको कारोबार भएको तथ्याङ्कमा  उल्लेख छ। नेपालले ६८ करोड १८ लाख रुपैयाँ बराबरको फूल निर्यात गर्दा ३३ करोडको फूल आयात गरेको भन्सार विभागको तथ्याङ्क छ।‘किसानबाट फूल किनेर बिक्री गर्ने व्यवसायीहरूको ५० लाख माथिको कारोबारमा भ्याट लाग्ने भएकाले गत वर्षको तुलनामा यो वर्ष माला केही महँगो हुने एसोसिएसनको भनाई छ ।  

बुधबार, १५ कार्तिक २०८०, ०७ : १५

प्रतिक्रिया