प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले हिजो गौतम बुद्धको जन्मस्थलको लुम्बिनीको भ्रमण गरेका छन् ।
आइतबार नेपाल आएका गुटेरेसले काठमाडौँमा राजनीतिक दलका शीर्षस्थ नेता लगायतसँगको भेटपछि सोमबार सगरमाथा क्षेत्र र पर्यटकीय नगरी पोखरा पुगेका थिए। उनले हिजो मात्रै अर्को महत्त्वपूर्ण पर्यटकीय गन्तव्य अन्नपूर्ण आधार शिविर समेत अवलोकन गरेका थिए ।
सगरमाथा र अन्नपूर्ण क्षेत्र तथा पोखरा र लुम्बिनी नेपालका प्रमुख पर्यटकीय गन्तव्यमा पर्छन् । पोखरा आन्तरिक र बाह्य पर्यटकका लागि प्रमुख गन्तव्य मानिन्छ भने सगरमाथा र अन्नपूर्ण क्षेत्र पर्वतारोहण र पदयात्राका लागि विश्वमै चर्चित छन्। साथै लुम्बिनी धार्मिक पर्यटनका दृष्टिले निकै महत्त्वपूर्ण मानिन्छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेस नेपाल भ्रमणका क्रममा यी महत्त्वपूर्ण पर्यटकीय गन्तव्यमा पुग्नु र पर्यटन क्षेत्रमा जलवायु परिवर्तनका कारण परेको असरबारे विश्वको ध्यानाकर्षण गराउनुलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
नेपाली सेनाको हेलिकप्टर मार्फत अन्नपूर्ण आधार शिविर पुगेका महासचिव गुटेरेसले विश्वव्यापी तापमान वृद्धिका कारण हिमाली शृङ्खलाको हिउँ दिनप्रतिदिन घटिरहेको उल्लेख गर्दै हिउँ पग्लिएकै कारण पहिरो तथा बाढीले समुदायमा क्षति पुर्याइरहेको बताएका थिए।
औद्योगिक राष्ट्रलाई जलवायु परिवर्तनको असर न्यूनीकरण हुने गरी प्रविधि तथा उपाय अपनाउन आह्वान गर्दै उनले नेपालमा परिरहेको जलवायु परिवर्तनको असरमा सहयोग गर्न आग्रह समेत गरेका थिए ।
संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसको नेपाल भ्रमण ऐतिहासिक हुनाका साथै पर्यटकीय विकासका दृष्टिले फलदायी हुने पर्यटन व्यवसायीको विश्वास छ। विसं २०७९ को बुद्ध जयन्तीका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणयता लुम्बिनीमा भारतीय पर्यटकको सङ्ख्या बढेको तथ्याकंले देखाउँछ ।
त्यसै गरी, २०७५ सालमा भारतीय प्रधानमन्त्रीका रूपमा मोदीको जनकपुर र मुक्तिनाथको दर्शनले पनि ती क्षेत्रमा भारतीय पर्यटक बढेका थिए । विश्वका प्रभावशाली व्यक्तिहरूको भ्रमणले उक्त क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने गरेको पाइन्छ ।
कोरोना महामारीलगायत कारण शिथिल बनेको मुलुकको पर्यटन यति बेला कोरोना महामारी अघिको अवस्थामा फर्कने क्रममा छ। कोरोना महामारी सुरु हुनुअघि सन् २०१९ मा नेपालमा करिब १२ लाख विदेशी पर्यटक आएका थिए भने सन् २०२३ को आठ महिनामा करिब सात लाख विदेशी पर्यटक नेपाल आइपुगेका छन् ।
यस्तो अवस्थामा महासचिव गुटेरेसको नेपाल भ्रमण नेपालको पर्यटन प्रवर्द्धनका लागि कोसे ढुङ्गा साबित हुने पर्यटन व्यवसायीको बुझाइ छ । उनको नेपाल भ्रमणले विश्वका अन्य पर्यटकलाई नेपाल आउने वातावरण बन्नेमा व्यवसायी ढुक्क देखिन्छन् ।
नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले पूर्ववत् लयमा फर्कन लागेको नेपालको पर्यटन क्षेत्र महासचिव गुटेरेसको भ्रमणले आगामी दिनमा थप चलायमान हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “महासचिव गुटेरेसको सगरमाथा, अन्नपूर्ण, लुम्बिनी, पोखरा र पाटन दरबार क्षेत्रलगायतका गन्तव्यको भ्रमणले नेपालको पर्यटनको विश्वभर प्रवर्द्धन भएको छ । महासचिवले गर्ने ‘ट्राभल’ संसारभरका सञ्चारमाध्यममा समाचार बन्छ, त्यसैले उहाँको यस भ्रमणबाट ठुलो प्रचारप्रसार भएको छ।”
प्रतिक्रिया