काठमाडौँ- आइएमई ग्रूप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट, रुकुम पश्चिमलगायतका जिल्लाका भूकम्प प्रभावितहरूको लागि घोषणा गरिएको सहयोग रकम १ करोड ५० लाख रुपैयाँको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेका छन् ।
अध्यक्ष ढकालले मंगलबार ग्लोबल आइएमई बैंक लिमिटेड, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स र आइएमई लिमिटेडलगायत आइएमई ग्रूपबाट प्रबर्द्धित कम्पनीहरू तथा आइएमई फाउन्डेसनमार्फत घोषणा गरिएको सहयोग रकमको चेक प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गरेका हुन् । उक्त अवसरमा अर्थमन्त्री डा प्रकाश शरण महत र मुख्यसचिव डा बैकुण्ठ अर्याल समेतको उपस्थिति थियो ।
यसैगरी, आइएमई ग्रूपका प्रवन्ध निर्देशक हेमराज ढकाल, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी युगेशभक्त बादे श्रेष्ठ, ग्लोबल आइएमई बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल लगायतको पनि उपस्थिति थियो ।
सहयोग रकम हस्तान्तरणसँगै आइएमई ग्रूपले भूकम्पका कारण मृत्यु भएका नागरिकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
साथै, भूकम्प प्रभावित क्षेत्रमा आइएमई ग्रूप तथा आइएमई फाउन्डेसनले स्थानीय प्रशासनसँगको समन्वयमा थप राहत सहयोग समेत उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको छ ।
प्रतिक्रिया