अर्थमन्त्रीको कार्य सम्पादन माथि प्रश्नै प्रश्न, लक्ष्य भन्दा ३० % कम राजश्व सङ्कलन

राजस्वमा अनपेक्षित गिरावट: राजश्व सङ्कलन नाजुक अवस्थामा

आइतबार, ०३ मंसिर २०८०, ०९ : ४९

काठमाडौं। चालु आर्थिक वर्षमा सरकार राजश्व सङ्कलनमा पुरै असफलताको बाटोमा देखिएको छ । चाडपर्व समेत पर्ने पहिलो चौमासिकमा सरकारको राजश्व सङ्कलन नाजुक अवस्थामा पुगेको सार्वजनिक तथ्याङ्कले देखाएको छ ।

सरकारले कात्तिक मसान्त भित्र ३ खर्ब ८४ अर्ब २९ लाख रुपैयाँ राजश्व उठाउने भनेको थियो । तर लक्ष्य त्यति राखिएको भए पनि यो अवधिमा सरकारको राजश्व जम्मा २ खर्ब ७६ अर्ब ६३ करोड ९९ लाख रुपैयाँ मात्रै सङ्कलन भएको छ । सङ्कलित राजश्व लक्ष्यको तुलनामा एक खर्ब ७ अर्ब ३६ करोड ३० लाख अर्थात् २७.९५ प्रतिशतले कमी हो ।

सरकारले चालु आर्थिक वर्षमा जम्मा १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । सरकारले कात्तिकसम्मका लागि भन्सार विभागलाई एक खर्ब ९७ अर्ब ३१ करोड ५० लाख रुपैयाँ राजश्व सङ्कलनको लक्ष्य तोकेको थियो ।

 आन्तरिक राजश्व विभागलाई एक खर्ब ५७ अर्ब ९ करोड ४१ लाख रुपैयाँको लक्ष्य दिएको थियो । सरकारले गैर कर राजश्व भने २९ अर्ब ५९ करोड ३ लाख रुपैयाँ उठाउने भनेको थियो ।भन्सार विभागले लक्ष्य भन्दा ३६.०४ प्रतिशतले कम मात्रै राजश्व उठाउन सकेको छ ।

कात्तिक मसान्तभित्र एक खर्ब ९७ अर्ब ३१ करोड ५० लाख रुपैयाँ राजश्व उठाउने लक्ष्य पाएको भन्सार विभागले जम्मा एक खर्ब २६ अर्ब ८५ करोड ४ लाख रुपैयाँ मात्रै राजश्व उठायो, जुन लक्ष्य भन्दा ३६.४ प्रतिशतले कम हो ।

उता,आन्तरिक राजश्व विभागले पनि लक्ष्य भन्दा १८.८७ प्रतिशतले कम राजश्व उठाएको छ । कात्तिक भित्र आन्तरिक राजश्व विभागलाई एक खर्ब ५७अर्ब ९ करोड ४१ लाख राजश्व उठाउने जिम्मा थियो । तर यो विभागले पनि लक्ष्य भन्दा १८.८७ प्रतिशतले कम मात्रै राजश्व उठाउन सफल भएको देखिन्छ।

कात्तिक भित्र २९ अर्ब ५९ करोड ३ लाख रुपैयाँ गैर कर राजश्व उठाउने भनेको सरकारले जम्मा २२ अर्ब ३३ करोड ७८ लाख रुपैयाँ मात्रै उठाएको छ ।जुन लक्ष्यको तुलनामा ७ अर्ब २५ करोड २७ लाख रुपैयाँ अर्थात् २४.५० प्रतिशतले कम हो ।

लक्ष्य भन्दा २७.९५ प्रतिशतले कम राजश्व उठेपछि अर्थमन्त्री डा.प्रकाश शरण महतको कार्य सम्पादनमाथि नै गम्भीर प्रश्न उठेको छ । मन्त्री डा.महतले नै सेट गरेको अर्थ मन्त्रालयको संयन्त्र र भन्सार विभाग तथा आन्तरिक राजश्व विभागले लक्ष्य भन्दा निकै थोरै मात्रै राजश्व उठाएपछि मन्त्रीको नेतृत्व क्षमता माथि प्रश्न उठेको हो ।
 

आइतबार, ०३ मंसिर २०८०, ०९ : ४९

प्रतिक्रिया