इमेज सहकारीको सबै पैसा चुक्ता गर्न चाहन्छु वातावरण निर्माण गर्दिनुहोस्: मेयर नेपाली

५ महिना अगाडि

काठमाडौँ । बचतकर्ताको करिब डेढ अर्ब हिनामिना गरेर फरार रहेको आरोप लागेका इमेज बचत तथा ऋण सहकारीका सञ्चालक तथा  ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपाली सम्पर्कमा आएका छन् । 

६ महिनादेखि फरार रहेका नगर प्रमुख आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत एउटा भिडियो र केही व्यक्तिगत सम्पत्तिको तस्बिर र विज्ञप्ति सार्वजनिक गर्दै सम्पर्कमा आएका हुन । 

६ महिनादेखि बेपत्ता भएका नेपाली विरुद्ध पक्राउ पुर्जी जारी भएको छ भने अध्यागमन मार्फत विदेश यात्रामा रोक लगाइएको छ । ६ महिनादेखि सम्पर्क विहीन रहेका नेपाली एकाएक मङ्गलवार फेसबुक मार्फत सार्वजनिक भएका थिए।

उने भिडियो मार्फत भनेका छन् म भागेको वा हराएको छैन, मलाई केही बचतकर्ता र अन्य व्यक्तिले हात हतियारसहित घरमा आएर धम्की दिएपछि आफू सुरक्षाको निमित्त  उक्त ठाउँ छोड्न  बाध्य भएको बताएका छन् । बचतकर्ताले १० हजार बचत भए पनि १० लाखको उजुरी दिएको गुनासो गर्दै नेपालीले जनताको सबै रकम फिर्ता गर्ने बाचा गरेका छन् । साथै धेरैजसो बचतकर्ताले रकम फिर्ता लगेको पनि उनले खुलाएका छन् ।

सबै बचतकर्ताको सबै रकम फिर्ता गर्ने विज्ञप्ति फेसबुकमार्फत सार्वजनिक गर्दै नेपालीले आफूसँग भएका सम्पत्तिको विवरण समेत सार्वजनिक गरेका छन् उनले सार्वजनिक गरेको सोही सम्पत्ति बेचेर रकम फिर्ता गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।

नेपालीले भिडियो सन्देशमार्फत सेयर सदस्य, बचतकर्ता, पत्रकार र नागरिक समाजलाई बचत फिर्ताको वातावरण मिलाइदिन आग्रह गरेका छन् । ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका उनीविरुद्ध बचतकर्ताहरूले बागलुङ र कास्कीमा उजुरी दिएका छन् । उनले सहकारीमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता जनाए पनि हाल कहाँ छन् भन्ने खुलाएका छैनन् ।

‘इमेजमा २ अर्बको डिपोजिटको हल्ला छ । त्यो सत्य होइन,’ उनले भने, ‘कसैले डिपोजिट फिर्ता लगे पनि पूरै डिपोजिट रहेको देखाएका छन् । कसैले १० हजार भए पनि १० लाख रहेको उजुरी दिएका छन् ।’

हिसाब मिलाउन समय माग्दासमेत नपाएपछि घरमा बस्न नसकेको उनले बताए । नेपालीले विभिन्न ठाउँमा रहेको १८ वटा घर र विभिन्न कित्ताको जग्गा सार्वजनिक गरेका छन् ।

आफूसँग भएको ३ अर्बभन्दा बढीको सम्पत्ति बचतकर्तालाई पास गरेर दिन तयार रहेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । बागलुङ, पोखरा र काठमाडौँमा उनले १८ वटा घर देखाएका छन् । त्यसमध्ये बागलुङमा ९ वटा, पोखरामा ३ वटा र काठमाडौँमा ६ वटा छ । उनले ४५ वटा कित्तामा जग्गा पनि देखाएका छन् ।
 

५ महिना अगाडि

प्रतिक्रिया