काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले राष्ट्रपति कार्यालय शीतल निवास र प्रधानमन्त्री निवास बालुवाटार वरपरका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
काठमाण्डौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले गए राति निषेधाज्ञाको आदेश जारी गर्दै यही मङ्सिर ५ गतेदेखि ३० दिनसम्म पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभालगायतका आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाइने बताएका छन्।
जारी निषेधाज्ञामा शीतल निवासमा पूर्वतर्फ पवित्र वर्कसपसम्म, पश्चिममा सामाखुसी निस्किने नालासम्म, उत्तरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको दक्षिण–पूर्वी गेटसम्म र दक्षिणमा प्रहरी अस्पताल जाने मोडसम्म रोक लगाइएको छ ।
यस्तै बालुवाटारमा पवित्र वर्कसप चोकबाट बालुवाटारतर्फ नेपाल राष्ट्र बैंक चोकसम्म र सभामुख निवासदेखि गैह्री धारा जाने बाटोको पश्चिम दक्षिण एक सय मिटरसम्म निषेधित क्षेत्र तोकिएको छ । विशिष्ट व्यक्तिको निवास कार्यालय रहेको क्षेत्रमा भेला भई धर्ना, जुलुसजस्ता कार्यक्रम गर्दा आपसी शान्ति सुरक्षा भङ्ग हुनसक्ने र नागरिकको सेवा प्रवाहमा असर गर्न सक्ने भएकाले सो क्षेत्रमा धर्ना, जुलुस गर्न रोक लगाइएको जनाइएको छ ।
प्रतिक्रिया