काठमाडौँ- बन्दीपुर केबुलकार एन्ड टुरिजमले निर्माण गरेको केबुलकार माघ १ गतेदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । ‘क्विन टावर’ नाम दिइएको १७ तल्लाको पाँचतारे होटल र केबुलकार एकैसाथ सञ्चालनमा ल्याउने तयारीका साथ अन्तिम चरणको कार्य भइरहेको छ । पहाडकी रानी उपनाउँले परिचित बन्दीपुरमा सञ्चालनको अन्तिम चरणमा रहेको केबुलकार र पाँचतारे होटलले यहाँको अर्थतन्त्र सबल बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।
टावरभित्र व्यवस्थापन तथा कोठाहरु मिलाउने र सभा हल निर्माण कार्य भइरहेको बन्दीपुर केबुलकार एन्ड टुरिजमका डाइरेक्टर इन्जिनियर हरिदत्त पौडेलले जानकारी दिए । त्यसैगरी केबुलकारतर्फ एकपटक परीक्षण गरिसकिएको र कुनै कुनै टावरमा सामान्य सुधार गर्नुपर्ने भएकाले अन्तिम तयारीको कार्य भइरहेको उनले बताए । उनका अनुसार आउँदो माघ १ गतेदेखि सञ्चालनमा ल्याउने गरी तीव्र गतिमा काम भइरहेको छ । केबुलकार सञ्चालनका लागि अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय अनुमतिपत्र लिनका लागि प्रक्रियामा रहेको छ ।
५० देखि २५ हजारसम्म टिकट शुल्क
जिल्लाको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टेसन र सोही वडाको बरालथोकसम्मको एक हजार सात सय मिटर दूरीमा केबुलकार निर्माण गरिएको छ । बन्दीपुर केबुलकारमा रु ५० देखि २५ हजारसम्म टिकट शुल्क कायम गरिएको कम्पनीले जनाएको छ । पृथ्वी राजमार्गमा रहेको तल्लो स्टेसनबाट माथि बन्दीपुर बजारमा कलेज पढ्न जाने र आउने विद्यार्थी तथा ६५ वर्षमाथिका नागरिकलाई टिकट दरमा सहुलियत गरिएको छ ।
एसियाकै ठूलो दाबी गरिएको बन्दीपुरको सिद्धगुफा र हरियाली डाँडाको मनोरम दृश्य अवलोकन गर्दै उक्त केबुलकारको यात्रामा मज्जा लिन सकिनेछ । केबुलकारको २१ डिब्बा यात्रु बोक्ने, छवटा रेष्ट्रो क्याबिन र दुई एड्भेन्चर गरी २९ वटा डिब्बा हुनेछन् । एक डिब्बामा आठजनासम्म यात्रुको क्षमता हुनेछ । एड्भेन्चर डिब्बा अन्य डिब्बाको तुलनामा फरक किसिमको हुनेछ । त्यो सिसैसिसाको र आधुनिक किसिमबाट निर्माण गरिएको हुने इन्जिनियर पौडेलले बताए । केबुलकारभित्रै सुत्न र खान पाइने व्यवस्थासहित रेष्ट्रो क्याबिनसमेत सञ्चालन गर्ने योजना रहेको छ ।
केबुलकार र पाँचतारे होटल गरी कूल रुतीन अरब ५८ करोडको लागतमा निर्माणसम्पन्न हुन लागेको हो । बन्दीपुर आउने पर्यटकले केबुलकारमा सुतेरै रमणीय प्राकृतिकस्थलको अवलोकन र भरपुर मनोरञ्जन लिन सक्नेछन् । करिब डेढ महिना सुरक्षाको हिसाबले पटकपटक केबुलकारको परीक्षण कार्य सम्पन्न गरिसकेको छ ।
यस्तो छ सेयर निष्काशनको तयारी
त्यसैगरी १२ प्रतिशत शेयर निकाल्ने तयारी गरिरहेको कम्पनीले जनाएको छ । यसमध्ये १० प्रतिशत कर्मचारी र सर्वसाधारणका लागि हुनेछ भने दुई प्रतिशत स्थानीयवासीका लागि छुट्याइनेछ । केबुलकार र ‘क्विन टावर’ र होटल सञ्चालनमा ल्याउनु अगावै शेयर निष्कासन गर्ने लक्ष्य राखिएको कम्पनीका अध्यक्ष शर्माले जानकारी दिए ।
“रु दुई करोड ५५ लाखको १२ प्रतिशत शेयर निकालिनेछ”, उनले भने, “केबुलकार तयारी अवस्थामा छ तर केबुलकार घुम्ने स्थानमा केही काम गर्नुपर्ने भएकाले असर पुग्ने देखिएका कारण रोकिएको हो ।”
असोज महिनाबाट सञ्चालनमा ल्याउने तयारी गरे पनि प्राविधिक कारणले ढिलाइ हुन गएको हो । बन्दीपुरमा घुम्न आउने पर्यटकहरुले नयाँपन र भरपुर मनोरञ्जन पाउनेछन् । पाँचतारे होटलबाट बन्दीपुर उपत्यकासहित विभिन्न जिल्लाका रमणीय डाँडाकाँडा र फाँटहरु सजिलै देख्न सकिनेछ । उक्त होटलको करिब ९५ प्रतिशत कार्य सम्पन्न भइसकेको छ । रङ्गरोगन र अन्य तयारीको व्यवस्थालगायत केही काम बाँकी रहेकोे छ ।
केबुलकारमा यात्रुको आवतजावतको समयपश्चात् साँझपख केबुलकारभित्र रेष्टुरन्ट सञ्चालन गरी खाना र सुत्न मिल्ने सुविधा प्रदान गरिने कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताए । तल्लो र माथिल्लो स्टेसनमा रेष्टुरेन्ट हुने भएकाले रेष्ट्रो प्याकेजमा पर्यटकलाई सेवा दिइनेछ । उनले भने, “कम्पनीले शाकाहारी, मांसाहारी लगायतका खानेकुरासँगै पेयपदार्थसमेत उपलब्ध गराइने छ ।” प्रत्येक साँझ ५ बजेपछि केबुलकारमा सो सुविधा प्रदान गरिने योजना रहेको छ । केबुलकारभित्र रेष्ट्रोको सुविधामा प्रत्येक दिन आकर्षण र हट प्रडक्ट बन्छ, प्रत्येक दिनको खाली समय साँझ ५ देखि ९ बजेसम्म उक्त सेवा दिइनेछ ।
त्यसैगरी केबुलकारको प्रवेशद्वारमा रु २६ करोडको लागतमा अर्को सुविधासम्पन्न आधुनिक होटल पनि निर्माण भइरहेको छ । उक्त होटल पनि छिट्टै सञ्चालनमा ल्याउने गरी निर्माण कार्य भइरहेको सो कम्पनीले जनाएको छ । बन्दीपुरमा ठूलो सङ्ख्यामा आउने पर्यटकलाई लक्षित गर्दै केबुलकार, रेस्ट्रो कार र तारेस्तरसम्मको होटल निर्माण गरिएको अध्यक्ष शर्माले बताए । पृथ्वी राजमार्गमा रहेको तल्लो स्टेसनबाट बन्दीपुरमा निर्माण गरिएको सत्र तल्ले होटलभित्रै केबुलकार पुगेर टुङ्गिनेछ ।
प्रतिक्रिया