किन तीन महिनादेखि बन्द छ लाइसेन्स छपाइ ? विभाग भन्छ.......

मंगलबार, १२ मंसिर २०८०, ०९ : ५५

काठमाडौँ ।  तीन महिनादेखि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ  डिसेम्बर अन्तिमदेखि मात्र सुरु हुने यातायात व्यवस्था विभागले जनाएको छ । 

नियमित छपाई सुरु हुन अझै एक महिना लाग्ने भएको छ। विभागका अनुसार कार्ड सकिएर छपाइ रोकिएको हो। हामीले ठेक्का लगाएको कार्ड डिसेम्बरभित्र आइपुग्छ। त्यसपछि छपाइ सुरु हुन्छ,’  विभागका एक कर्मचारीले जानकारी दिए । 

जर्मन कम्पनी म्युहलबौयर आइडी सर्भिस जिएमबिएच ले सम्झौता अनुसार तीन महिनामा कार्ड आपूर्ति गर्नुपर्ने थियो। लाइसेन्सको ‘पर्सनलाइज’ गर्नुपर्ने भएकाले ढिलाइ भएको विभागको जानकारी छ ।  लाइसेन्सको प्रिन्टर भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्स ९एमएसपी० को हो । २०७९ माघमा म्युहलबौयर आइडी सर्भिस जिएमबिएचलाई १२ लाख थान कार्डको ठेक्का लगाएको थियो। 

मद्रास सेक्युरिटीले सोर्स कोड ह्यान्डओभर नगरेका कारण सोचेभन्दा ढिलो भएको उनले बताए। ‘मद्रासले आफ्नो प्रविधि ह्यान्ठडओभर गरेन। म्याद नसकिएका कारण हामीले पनि जबरजस्ती माग्न मिलेन, त्यही भएर समस्या परेको हो विभागको भनाई छ । 

अहिले १२ लाख चालकले सबै प्रक्रिया पुर्‍याए पनि लाइसेन्स पाउन सकेका छैनन्। दैनिक ट्रायल पास गर्ने र नवीकरणका लागि दैनिक करिब ७ हजार लाइसेन्सको माग छ। विभागले थप १६ लाख कार्डको बोलपत्र आह्वान गरेको छ।

विभागले गत कात्तिक २४ मा स्मार्ट सवारी चालक अनुमति पत्र, स्मार्टकार्ड प्रिन्टर र प्रिन्टिङ सञ्चालन गर्ने प्रणाली आपूर्ति, डेलिभरी, स्थापना, कमिसन र समर्थनका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको हो। विभागले यसअघि पनि प्रिन्टरका लागि तीन पटक बोलपत्र आह्वान गरिसकेको छ। 

दुई पटक आह्वान गरिएको राष्ट्रिय स्तरको बोलपत्रमा कुनै पनि आवेदन नपरेपछि विभागले २०७९ चैत ८ मा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो।यसमा चार कम्पनीको आवेदन परे पनि सबै आवेदन अस्वीकृत भएका थिए। विभागले बनाएको स्पेसिफिकेसन अनुसार कुनै पनि कम्पनीको आवेदन नपरेका कारण चार वटै कम्पनी प्राविधिक प्रस्तावमा अस्वीकृत भएको विभागले जनाएको छ।

मंगलबार, १२ मंसिर २०८०, ०९ : ५५

प्रतिक्रिया