एनसेलबाट बाहिरिने निर्णयमा पुगेको आजियाटाको वित्तीय कारोबार  कति छ ?

विहीबार, १४ मंसिर २०८०, ०६ : ५९

काठमाडौँ। निरन्तर नाफा कमाइरहेको एनसेलको माउ कम्पनी मलेसियाको आजियाटा लगानीको वातावरण चुनौतीपूर्ण रहेको भन्दै नेपालबाट बाहिरिने निर्णय पुगेको छ। 

नेपालमा एनसेलको कारोबार घट्दै गए पनि कम्पनी घाटामा भने गएको देखिदैन । आजियाटाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कले समेत कम्पनी नाफामै रहेको डाटा देखाएको छ। आजियाटाले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सन् २०२३ को पछिल्लो तीन महिनामा मात्र एनसेलले कुल ९ अर्ब ३१ करोड रुपैयाँबराबर कारोबार गरेको छ। 

यो २०२२ को सोही अवधिको तुलनामा ७० करोड ५० लाख रुपैयाँले कम हो।तथ्यांक अनुसार कम्पनीले २०२३ को ९ महिनासम्ममा २८ अर्ब २७ करोड रुपैयाँको कारोबार गरेको छ। अघिल्लो वर्ष २०२२ को सोही अवधिमा कम्पनीको कारोबार ३० अर्ब १९ करोड रुपैयाँ थियो। नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्कले पनि नेपालमा एनसेलको कारोबारमा कमी आएको देखाउँछ। 

तथ्यांकअनुसार २०७५/७६ मा एनसेलको व्यापार ५५ अर्ब २८ करोड, २०७६/७७ मा ४६ अर्ब ७७ करोड, २०७७र७८ मा ४० अर्ब २२ करोड, २०७८र७९ मा ३९ अर्ब ५१ करोड र २०७९र८० मा आउँदा ३७ अर्ब ४४ करोड रुपैयाँको भएको देखिन्छ। 

एनसेलबाट आजियाटा बाहिरिने निर्णयमा पुग्नुको प्रमुख कारण कम्पनीको लाइसेन्स अवधिलाई लिइन्छ। दूरसञ्चार प्राधिकरणका अनुसार एनसेल अब सरकारी स्वामित्वमा आउन करिब ६ वर्ष मात्रै बाँकी छ।दूरसञ्चार ऐन, २०५३ ले दूरसञ्चार सेवा सञ्चालनको अनुमति लिएका कम्पनीको लाइसेन्स अवधि २५ वर्ष तोकेको छ।

विहीबार, १४ मंसिर २०८०, ०६ : ५९

प्रतिक्रिया