सिमरा विमानस्थलमा रिफ्युलिङ सेन्टर स्थापना,मन्त्री रिजालद्धारा उद्घाटन

सोमबार, १८ मंसिर २०८०, ०७ : ०३

काठमाडौँ ।  सिमरा विमानस्थलमा हवाई इन्धनको रिफ्युलिङ सेन्टर स्थापना भएको छ । नेपाल आयल निगमले स्थापना गरेको उक्त रिफ्युलिङ सेन्टरको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले समुद्घाटन गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि नेपालकै सबैभन्दा पुरानो विमानस्थलका रूपमा रहेको उक्त विमानस्थलमा हालसम्म हवाई इन्धन भर्ने व्यवस्था थिएन । रिफ्युलिङ सेन्टर सञ्चालनमा आएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट (आन्तरिक तर्फ) नजिकको वैकल्पिक विमानस्थलका रूपमा उक्त विमानस्थललाई प्रयोगमा ल्याउन सकिने निगमका प्रवक्ता मनोज ठाकुरको भनाई छ ।  

काठमाडौँबाट सिमरासम्मको हवाई यात्राको समय करिब १५ मिनेट रहेको छ । रिफ्युलिङ सेन्टरको स्थापनापछि हवाई यात्राको कनेक्टिभिटी र पहुँचलाई सुदृढ गर्दै उड्डयन उद्योग र हवाई यात्रु दुवैलाई फाइदा पुग्ने निगमको विश्वास छ । रिफ्युलिङ सेन्टरका लागि निगमले विमानस्थलमा ११ र १६ किलो लिटरका २ वटा रिफ्युलर तथा ९ किलो लिटरको ‘डिस्पेन्सर’ को व्यवस्था गरेको छ ।

सिमरा विमानस्थलमा भण्डारण ट्याङ्क स्थापना नभएसम्म जनकपुरमा रहेको डिपोबाट हवाई इन्धन ल्याइने भएको छ । निगमले हाल भारतको बरौनीबाट जनकपुर डिपोमा हवाई इन्धन ल्याउने गरेको छ । निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले हवाई इन्धन रिफ्युलिङ सेवा विस्तार गर्ने नीति तथा कार्यक्रमअनुसार यो वर्ष पहिलो पटक सिमरा विमानस्थलमा सेवा सुरु गरिएको बताएका छन् । 

यो सेवा विस्तारबाट निगमलाई सिमराबाट काठमाडौँसम्मको ढुवानीमा लाग्दै आएको ढुवानी भाडा बचत हुने प्रवक्ता ठाकुरको भनाइ छ । उक्त  अवसरमा मन्त्री रिजालले व्यावसायिक संस्थाका रूपमा रहेको निगमले खाना पकाउने ग्यासमा जनतालाई सहुलियत दिन नोक्सानी व्यहोरेरै भए पनि सस्तो मूल्यमा उपलब्ध गराइएको बताएका छन् । 
 

सोमबार, १८ मंसिर २०८०, ०७ : ०३

प्रतिक्रिया