काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले अनुमोदन गरेका मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, महासन्धिका प्रतिबद्धता पूरा गर्न सरकार क्रियाशील रहेको बताएका छन्।
७५औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आइतबार बिहान शुभकामना दिदँै प्रधानमन्त्रीले जातीय, क्षेत्रीय, लैङ्गिक तथा परम्परागत विभेदका कारणलाई सम्बोधन गर्न संविधानमा मौलिक हकको व्यवस्था भए बमोजिम कानुन बनाइ मानव अधिकारको प्रत्याभूति दिलाउन सरकार प्रयत्नशील रहेको जनाएका छन् ।
संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९४८ को डिसेम्बर १० अर्थात् आजकै दिन मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको दिनलाई विश्व समुदायले मानव अधिकारको अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउँदै आइएको छ।
प्रधानमन्त्री प्रचण्डले प्रत्येक व्यक्तिको जीवन, मर्यादा, समानता, स्वतन्त्रताका साथै मानवअधिकारको सम्मान, संरक्षण र संवर्द्धन गरी मानवअधिकार संस्कृतिको विकास गर्न सरकार प्रतिबद्ध रहेको दाबी गरेका छन्।
सरकारले नेपाल पक्ष भएका मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको दायित्व पूरा गर्दै आइरहेको जनाउँदै प्रधानमन्त्री प्रचण्डले केही बडापत्रमा आधारित र सन्धि जनित समितिमा पेस हुन बाँकी आवधिक प्रतिवेदन साथै विश्वव्यापी आवधिक समीक्षा प्रतिवेदन समयमा नै पेस हुनेमा सरकार दृढ रहेको बताएका छन् ।
मानवअधिकार संरक्षणका लागि अहोरात्र खटिने सरकारी तथा गैरसरकारी संयन्त्र, मानवअधिकारको खबरदारी गर्ने मानवअधिकार रक्षक, नागरिक समाज, पत्रकार, कूटनीतिक नियोगलगायत सबैमा प्रधानमन्त्री प्रचण्डले शुभकामना व्यक्त गरेका छन्।
प्रतिक्रिया