काठमाडौँ । सिडी रेसियो ८१ प्रतिशत भन्दा तल झरेसँगै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट सात दिनका लागि १० अर्ब तरलता खिच्ने जनाएको छ।
बैंकले सात दिने निक्षेप सङ्कलन उपकरण मार्फत पुस १ देखि पुस ८ गतेसम्मका लागि १० अर्ब निक्षेप सङ्कलन गर्न लागेको हो । राष्ट्र बैंकबाट इजाजत पाएका क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलनको बोलकबोलका लागि आवेदन दिन सक्नेछन् ।
ती संस्थाले कम्तिमा १० करोड देखि सो भन्दा माथि ५ करोडले भाग गर्दा निःशेष भाग जाने रकम १० अर्ब सम्मै बोल गर्न सक्नेछन् । संकलित निक्षेपको साँवा तथा ब्याज राष्ट्र बैंकले पुस ८ गते भुक्तान गर्नेछ । ब्याजको हकमा सबैभन्दा कम कबोल गरिएको ब्याजलाई पहिलो प्राथमिकतामा राखी त्यसै क्रमले बोल गरिएको रकम क्रमश: बाँडफाँड हुनेछ ।
यसरी निक्षेप सङ्कलन गरिएको रकम तरलता अनुपात तथा एसएलआरमा बैंक तथा वित्तीय संस्थाले गणना गर्न पाउनेछन् । मङ्सिर महिनामा राष्ट्रबैंकले पाँच पटक यसरी निक्षेप सङ्कलन गरेको थियो । पुसको सुरुवात मै फेरि राष्ट्र बैंकले निक्षेप सङ्कलन गर्न लागेको हो ।
प्रतिक्रिया