पर्यटन क्षेत्रमा सरकारी लक्ष्य पुरा, २०२३मा कुन देशबाट कति पर्यटक नेपाल आए ?

महामारीपछि २०२३ मा ८५ प्रतिशत पर्यटन पुनःरुत्थान

आइतबार, १५ पुस २०८०, ०६ : ४३

काठमाडौं - नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ को अन्तिमसम्ममा १० लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । 

योसँगै सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा सन् २०२३ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या १० लाख पुर्‍याइने उल्लेख गरेको थियो ।

कोभिड-१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन करिब पुनःरुत्थान भएको हो । पर्यटन बोर्डका अनुसार महामारीपछि यो वर्ष ८५ प्रतिशत पर्यटन पुनःरुत्थान भएको छ । आगामी दिनमा पर्यटक बढाउन भैरहवा र पोखरामा रहेका अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन र पर्यटक स्रोत बजारमा प्रभावकारी बजारीकरणका लागि बोर्डले रणनीतिक कार्ययोजना बनाउनेछ भएको छ।

सरकारले अर्को वर्ष विदेशी पर्यटकको सङ्ख्या झण्डै दोब्बर बनाउने लक्ष्य लिएको छ । सरकार एक वर्ष पूरा भएको अवसरमा पुस १० गते देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो वर्ष पर्यटकको सङ्ख्या लगभग कीर्तिमानकै रूपमा वृद्धि भएको बतााएका थिए। “अहिले सुन्दा अपत्यारिलो लाग्ला तर क्षेत्रगत तयारी र योजनाबाट अर्को वर्ष हामी पर्यटकको सङ्ख्या झण्डै दोब्बर बनाउँछौँ भन्ने मेरो विश्वास छ”, प्रधानमन्त्री दाहालले भनेका थिए ।

सरकारले सन् २०२५ लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरेको छ। साथै सन् २०२३ देखि २०३२ लाई पर्यटन दशकका रुपमा मनाएर ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । चालु आव २०८०र८१ को बजेटमा मुलुकलाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिनुका साथै पर्यटन प्रवर्द्धन र पूर्वाधार विकास गरी राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान वृद्धि गरिने उल्लेख गरिएको थियो । 

सन् २०१९ मा दुई लाख ५४ हजार एक सय ५० भारतीय पर्यटक नेपाल आएकामा यस वर्ष तीन लाख १७ हजार चार सय ८१ पर्यटकले नेपाल भ्रमण गरेका छन् । भारतपछि अमेरिकी पर्यटक बढेका छन् । अमेरिकी पर्यटकको सङ्ख्या यसवर्ष ९९ सय हजार नौ सय ८५ एक लाख पुगेको छ । सन् २०१९ मा ९३ हजार दुई सय ४१ अमेरिकी पर्यटक आएका थिए । 

त्यसैगरी चिनियाँ पर्यटकको सङ्ख्या पनि क्रमशः बढिरहेको छ । यस वर्ष ६० हजार एक सय ६० चिनियाँ पर्यटक नेपाल भित्रिएका छन् । सन् २०१९ मा एक लाख ६९ हजार पाँच सय ४३ चिनियाँ पर्यटक नेपाल आएका थिए। 
यस अवधिमा म्यानमारबाट १२ हजार छ सय ८८, श्रीलङ्काबाट २१ हजार आठ सय ४४, संयुक्त अधिराज्य बेलायतबाट ५२ हजार सात सय ९१ विदेशी पर्यटक भित्रिएका छन् ।

पर्यटन बोर्डका अनुसार यस वर्षको अक्टोबरमा सबैभन्दा बढी एक लाख १७ हजार तीन सय छ पर्यटक आएका थिए । जुन आँकडा कुनै एक महिनामा भित्रिने विदेशी पर्यटकको सङ्ख्या हालसम्मकै बढी हो ।

वर्षको सुरु जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार दुई सय ५५, मार्चमा ९९ हजार चार सय २८, अप्रिलमा ९८ हजार सात सय ७४, मेमा ७७ हजार सात सय दुई, जुनमा ७२ हजार दुई सय ४८, जुलाईमा ५७ हजार सात सय २५, अगष्टमा ६७ हजार एक सय ५३, सेप्टेम्बरमा ९१ हजार १२, नोभेम्बरमा एक लाख ८६ हजार २८ र डिसेम्भरमा ९० हजार तीन सय नौ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सञ्चारकर्मीसँग कुराकानी गर्दै कोभिड–महामारीपछि मुलुकको पर्यटन करिब पुरानै लयमा फर्किएको बताउनुभयो । उहाँले सरकारको लक्ष्यअनुरुप विदेशी पर्यटक भित्रिएको र अगामी वर्ष विदेशी पर्यटकको सङ्ख्या दोब्बर बनाउन प्रभावकारी कार्यक्रमअघि बढाइने बताएका छन्।

 “देशको पर्यटन करिब पुरानै लयमा फर्किएको छ । यो वर्ष १० लाख बढी विदेशी पर्यटक भित्रिएका छन् । नेपाल वायुसेवा निगम सुधार्न र जहाज थपेर सेवा प्रभावकारी बनाउन रणनीतिक महत्वका काम अघि बढाइएको छ । हवाई क्षेत्रको सुधारका लागि धेरै काम भएका छन् । यसले पनि पर्यटन बढोत्तरीमा मद्दत पुग्नेछ ।”पर्यटनमन्त्री किरातीले भनेका छन् । 
 

आइतबार, १५ पुस २०८०, ०६ : ४३

प्रतिक्रिया