काठमाडौं- नेपालको आर्थिक वृद्धि आगामी वर्ष ५ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ।
बैंकले सार्वजनिक गरेको ‘विश्वव्यापी आर्थिक सम्भावना’ प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१र८२ मा नेपालले ५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा भने ३.९ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान विश्व बैंकले यसअघि नै गरिसकेको छ । गत वर्ष नेपालको आर्थिक वृद्धिदर १.९ प्रतिशतमा सीमित भएको थियो । सन् २०२४ मा विश्वव्यापी आर्थिक वृद्धि घट्ने विश्व बैंकको प्रक्षेपण छ।
सन् २०२३ मा २.६ प्रतिशत रहेको विश्वव्यापी आर्थिक वृद्धि सन् २०२४ मा २.४ प्रतिशत रहने देखिएको हो । त्यस्तै विकासोन्मुख देशहरूको आर्थिक वृद्धि ३.९ प्रतिशत रहने अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको भन्दा १ प्रतिशत कम हो । विश्व बैंकको प्रक्षेपणअनुसार अतिकम विकसित मुलुकहरूको आर्थिक वृद्धि ५.५ प्रतिशतमा झर्नेछ । सन् २०२४ को अन्त्यमा चारवटा विकासोन्मुख देशमध्ये एउटा र अतिकम विकसित मुलुकका ४० प्रतिशत मानिस गरिबीको रेखामुनि रहनेछन् । विकसित देशहरूको आर्थिक वृद्धि पनि सन् २०२३ को १.५ प्रतिशतबाट १.२ प्रतिशतमा झर्ने विश्व बैंकको अनुमान छ ।प्रतिवेदनमा विश्वको आर्थिक विकासका लागि परिवर्तनकारी दशक बन्ने अपेक्षा गरिएको ३० को दशकको पहिलो चार वर्ष विगत ३० वर्षकै तुलनामा कमजोर देखिएको उल्लेख छ ।
प्रतिक्रिया