सर्वोच्चको अयोध्या फैसलाप्रति मुस्लिम असन्तुष्ट, मोदीले गरे शान्तिको अपिल

४ बर्ष अगाडि

 अयोध्याको विवादित स्थलमा राम मन्दिर निर्माण गर्ने सवोच्च अदालतको फैसलाप्रति सुन्नी वक्फ बोर्डले असन्तुष्टि जनाएको छ । 

भारत इतिहासकै लामो विवाद मानिएको यस विषयमा अदालतको फैसलापछि सुन्नी वक्फ बोर्डका वकिल जफयाब जिलानीले आफू फैसलाको सम्मान गर्ने तर यसमा सन्तुष्ट नभएको बताएका छन् । 

सुन्नी बोर्डले फैसलाविरुद्ध क्युरेटिभ पेटिन्सन वा रिभ्यू पेटिन्सन दायर गर्न सक्ने संकेत उनले दिएका छन् । मुस्लिम पक्षको वकिल राजीव धवनसँग छलफल गरेपछि अगाडीको कदमबारे फैसला गरिने उनले जनाएका छन् । फैसलाको अध्ययनपछि रिभ्यु पेटिन्सन दर्ता गर्ने वा नगर्ने बारे तय हुने जिलानीले बताए ।

भारतीय सर्वोच्च अदालतका मुख्य न्यायाधीश रन्जन गोगोइको अध्यक्षतामा बनेको पाँच सदस्यीय न्यायिक बेन्चले अयोध्याको विवादित बाबरी–रामजन्मभूमि प्रकरणमा ऐतिहासिक फैसला गरेको हो । 

यता प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्या सम्बन्धमा सवोच्चको फैसलालाई स्विकार्नु पर्ने बताएका छन् । उनले अदालतको फैसलापछि पनि सौहार्दपूर्ण अवस्था कायम राख्नुपर्ने बताएका छन् ।

उनले ट्विटरमा लेखेका छन्, ‘देशको न्यायपालिकाको मान–सम्मानालाई सर्वोपरी राख्दै समाजका सबै पक्षले हिजोको दिनमा सौहार्दपूर्ण र सकारात्मक वातावरण बनाउनको लागि जुन प्रयास गरे, त्यो स्वागत योग्य छ ।’

सवोच्चको अन्तिम फैसला हुने भएपछि सुरक्षा सतर्कता अपनाउँदै भारतको उत्तर प्रदेशमा पूर्ण सुरक्षा सतर्कता अपनाइएको छ । नेपालगन्जस्थित नेपाल–भारत सीमा नाका जमुनहा बन्द गरिएको बताइएको छ ।

सन् १९९२ ६ डिसेम्बरमा भारतीय जनता पार्टी निकट हिन्दू समर्थकहरूले अयोध्यास्थित बाबरी मस्जिद भत्काएपछि राम जन्मभूमिसम्बन्धी विवाद चुलिएको थियो । त्यसबेला भड्किएको हिंसामा सयौंको मृत्यु हुनुका साथै ठूलो धनजनको समेत क्षति भएको थियो ।  

करिब २ दशमलब ७७ एकड जमिनका लागि चलिरहेको यो विवाद भारतको इतिहासकै सबैभन्दा लामो विवाद भएको बताइएको छ । जम्मा पौने तीन एकड जमिनमा हिन्दू र मुस्लिम समाजको आस्था जोडिएको छ । हिंसा भड्कीन सक्ने अनुमान गरि भारतभर सुरक्षा व्यवस्था कडा पारिएको छ ।  

४ बर्ष अगाडि

प्रतिक्रिया