रुकुम घटनाबारे करिश्मा लेख्छिन्, ‘कसैको ज्यान लिने कसैलाई अधिकार छैन’

३ बर्ष अगाडि

नेपाली फिल्मकर्मीहरुले पनि रुकुम घटनाको बारेमा आफ्नो मत राखिरहेका छन् । यसबीच, अभिनेत्री करिश्मा मानन्धरले रुकुममा घटेको अकल्पनीय घटनाको निन्दा गरेकी छन् । उनले फेसबुकमा स्टाटस लेख्दै यो घटनाको सत्यतथ्य छानविन गर्न सम्बन्धित निकायसँग माग पनि गरेकी छन् । नेपाली समाजले जति नै समानताका कुरा गरे पनि सुषुप्त अवस्थामा जातीय विभेदको रोग टाँसिएर बसेको उनको भनाई छ । यसलाई उनी मानिसले चलाएको कुरिती मान्छिन् ।
 
रुकुम घटनाको बारेमा आफ्नो विचार राख्दै करिश्माले लेखेकी छन्, ‘मेरो विचारमा घटना अपरिपक्व किशोर र किशोरीको सम्बन्धका कारण भयो । उनीहरु त ल उमेरका कारण सही निर्णय लिनसक्ने अवस्थामा थिएनन् तर गाउँका अरुबाट यस्तो त्रुटी कसरी हुन गयो रु आफ्ना केटाकेटीहरु के क्रियाकलाप गर्दैछन् अभिभावकले दिनुपर्ने ध्यान कम भएको हो कि रु’
 
अभिभावकले आफ्ना सन्तान कहाँ गए, कसकोमा बसे, घर आए कि आएनन् भनेर ध्यान दिन कमी भएको हुनसक्ने उल्लेख गर्दै अभिनेत्री मानन्धरले अगाडि थप्दै लेखेकी छन्, ‘बच्चा नाबालिक भनेर मात्रै भएन नी, नाबालकले के गर्दैछ त्यो पनि हेर्नुपर्‍यो । कहिलेकाहिँ कस्तो हुन्छ भने यदी बच्चाहरु बुझ्न चाहँदैनन भने परिस्थितिलाई सहज पार्न ठुलोबडाले सम्यमता अपनाउनु पर्छ ।’
 
गलत बुझाइ, आवेग, केटाहरूको अतंकित मनस्थिति र गाउँलेहरुले गुमाएको मानसिक सम्यमताका कारण रुकुम घटना घटेको  अभिनेत्री मानन्धरको निष्कर्ष छ । उक्त घटना घट्नुको अर्को कारण अभिभावकले आफ्ना बच्चालाई के गलत के सही भनेर बुझाउन नसक्नु पनि रहेको उनको तर्क छ । आफ्ना सन्तानलाई संस्कार दिनु अभिभावकको कर्तव्य रहेको उनी बताउँछिन् ।

‘घर परिवार, केटाकेटीको पहिलो स्कुल हो । परिस्थिति बुझाउन नसक्दा त्यतिका बच्चाहरुको ज्यान गयो । कसैको ज्यान लिने कसैको अधिकार छैन । त्यसैले घटनाका दोषीहरुलार्ई कडा कारबाही हुनुपर्छ,’ अभिनेत्री करिश्माले लेखेकी छन् । उनले लेखेको स्टाटसमा अभिनेत्री विपना थापादेखि हास्यकलाकार किरण केसीसम्मले ‘सत्य कुरा’ भन्दै प्रतिक्रया जनाएका छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया