जाने हैन त जापान ? श्रमिक भर्ना अप्रिलदेखि

५ बर्ष अगाडि

बिचौलियाको शोषणमा नपर्ने गरी नेपाली श्रमिक लैजान जापान तयार भएको छ । काठमाडौँमा बुधवार भएको उच्चस्तरीय बैठकमा दुवै देश यसका लागि आवश्यक संयन्त्र बनाउन सहमत भएका छन् । बैठकमा सहभागी हुन जापानबाट ९ सदस्यीय टोली आएको थियो। टोलीले आगामी अप्रिलदेखि नेपाली कामदार लैजाने प्रकृयाको बारेमा जानकारी दिएको छ। यो समाचार हामीले कान्तिपूर दैनिकमा होम कार्कीको बाइलाइनबाट लिएका हौँ।

के के भयो बैठकमा?
जापानले विदेशी श्रमिकसँग सम्बन्धित अध्यागमन कानुन संशोधन गरेको जानकारी गरायो।

नेपाली पक्षले भने श्रमिकमाथि अनावश्यक भार पर्न नहुने, पारदर्शी ढङ्गबाट श्रमिक छनोट हुनुपर्ने, जापानी नागरिक सरह नै नेपालीलाई तलब र सेवा सुविधा दिनुपर्ने, बिमा र सामाजिक सुरक्षा हुनुपर्ने र व्यवसायजन्य स्वास्थ्य सुरक्षाको उचित प्रबन्ध हुनुपर्ने सर्त राखेको थियो ।

जापानी पक्षले स्वदेशी र विदेशी श्रमिकबिच तलब, सेवासुविधामा भेदभाव नभएको, व्यवसायजन्य स्वास्थ्य सुरक्षामा उचित व्यवस्था भएको बताएको थियो ।
कति समय काम गर्न सक्नेछन्? कसरी जान सकिन्छ ?

दक्ष श्रमिकको भिसाको अवधि ५ वर्ष हुनेछ भने अदक्ष श्रमिकको भिसा अनिश्चित छ।

कामदार छनौटको लागि भाषा परीक्षामा उत्तीर्ण हुनुपर्छ। भाषा परीक्षाको लागि कार्यविधि भने बन्दैछ।

सरकार–सरकारबिच दुई पक्षीय श्रम–समझदारीहुने  भए पनि निजी क्षेत्रले माग गरेअनुसार श्रमिकको भर्ना हुनेछ।

श्रम मन्त्रालयले द्विपक्षीय श्रम समझदारीपछि मात्रै श्रमिक भर्ना प्रक्रिया सुरु हुने हुँदा सचेत रहन आग्रह गरेको छ । श्रमिक भर्ना गर्ने प्रक्रिया सुरु नभएपनि रकम उठाएर ठगी गर्ने गिरोह सक्रिय भइरहेको खबर आइरहेकोले गर्दा यस्तो भ्रममा नपर्न कामदारलाई सचेत गरेको छ । यदि जापान लैजाने भन्दै कोही कसैले रकम उठाए कारबाहीको भागीदार हुनुपर्ने पनि बताएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया