अब विज्ञापन क्षेत्रको चुहावट नियन्त्रण हुनेछ : मन्त्री शर्मा

३ महिना अगाडि

काठमाडौँ - सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विज्ञापन क्षेत्रको चुहावट नियन्त्रण गरेरै छाडिने बताएकी छिन् ।सोमबार विज्ञापन बोर्डद्वारा आयोजित ‘रेडियो टेलिभिजनको व्यावसायिक प्रवर्द्धनमा संलग्न जनशक्तिको क्षमता विकास’ कार्यक्रममा मन्त्री शर्माले विज्ञापन नियमावली संशोधन भएकाले विज्ञापन चुहावट नियन्त्रण हुने बताइन् ।विज्ञापनमा धेरै चुहावट भएको, विज्ञापनको बजेट सम्बन्धित मिडियामा पुग्न नसकेको र यसले मिडिया आत्मनिर्भर हुन सकेनन् भनेर धेरै गुनासो आएपछि विज्ञापन नियमावली संशोधन गरिएको उनले बताइन् । ‘अब यसबाट धेरै सुधार आउने विश्वास छ,’ उनले भनिन् ।

मन्त्री शर्माले सरकारी विज्ञापनमा अर्बौं बजेट विनियोजन हुने गरे पनि बीच बाटोमै हराएर मिडियामा एकदमै कम बजेट जाने प्रवृत्ति देखिएकाले त्यसलाई रोक्न नियमावली परिमार्जन गर्नुपरेको बताइन् ।‘अहिले विज्ञापन नियमावली संशोधन भएको छ । यसको उद्देश्य सरकारले छुट्ट्याएको सबै रकम मिडियामा जाओस् भन्ने हो,’ उनले भनिन्, ‘विज्ञापन एजेन्सीमार्फत आएको हो भने एजेन्सी शुल्क १५ प्रतिशतबाहेक बाँकी बजेट सम्बन्धित मिडियामा जाने छ । यसमा कडाइ गर्न बोर्डलाई निर्देशन दिइसकिएको छ ।’अहिले सबै क्षेत्रले आर्थिक मन्दी भोगेको भन्दै मन्त्री शर्माले विज्ञापन बजार र मिडिया क्षेत्र त्यसबाट अछुतो नरहने उल्लेख गरिन् । ‘अहिले सबै क्षेत्रमा आर्थिक मन्दी छ । विज्ञापन बजार क्षेत्रले समेत आर्थिक मन्दीको चरम अभाव भोगिरहेको छ,’ उनले भनिन्, ‘त्यसैमा जति विज्ञापन उपलब्ध हुन्छन्, त्यति विज्ञापनको बजेट सम्बन्धित मिडियामा पुग्न नसक्दा मिडियालाई बाँच्न गाह्रो भइराखेको छ ।’

उनका अनुसार सम्बन्धित मिडियाले ऐनबमोजिम सेवा सुविधा पाएको कुरा, तोकिएको पारिश्रमिक दिन नसक्दा श्रमजीवी पत्रकार र मिडिया सञ्चालकबीच द्वन्द्व भएको देखिन्छ ।समग्र विज्ञापन बजार स्वस्थ र पारदर्शी बनाउँदै यसको दायरा फराकिलो पार्न राष्ट्रिय विज्ञापन नीति जारी गर्ने तयारी गरिरहेको पनि मन्त्री शर्माले जानकारी दिइन् ।विज्ञापन बजार व्यवस्थित गरे अभिव्यक्ति स्वतन्त्रताको पक्षमा वकालत गर्ने मिडियासमेत बलियो हुने मन्त्री शर्माको विश्वास छ ।‘हामीले कानुन र नीति नियमबाट मिडियालाई कसरी बचाउने भन्नेबारे बाटो खोज्दै छौं । मिडिया व्यवस्थापन र विज्ञापन बजार क्षेत्रका जनशक्तिलाई के कति व्यवहारिक समस्या छन, अरू के–कस्ता समस्या छन् भन्नेमा तपाईंहरू भुक्तभोगी हुनुहुन्छ,’ मन्त्री शर्माले भनिन्, ‘विज्ञ साथीहरू आएर तालिम दिन लाग्नुभएको छ । यो तालिम धेरै लाभदायक हुने विश्वास लिएको छु ।’

३ महिना अगाडि

प्रतिक्रिया