काठमाडौं- बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरी मनाइँदै छ। यस अवसरमा काठमाडौं उपत्यकासहित देशभरका विभिन्न देवी मन्दिर तथा शक्तिपीठमा बिहानैदेखि दर्शनार्थीहरूको घुइँचो लागेको छ।
काठमाडौं उपत्यकाका भद्रकाली, नक्साल भगवती, मैतीदेवी, दक्षिणकाली र गुह्येश्वरीलगायत शक्तिपीठमा भक्तजनहरू लामबद्ध भएर देवीको पूजा आराधना गरिरहेका छन्। मन्दिर पुग्न नसक्ने भक्तजनले आफ्नै दसैँघर तथा पूजा कोठामा विधिपूर्वक देवीको उपासना गरिरहेका छन्।
धर्मशास्त्रका जानकार डा। वासुदेवकृष्ण शास्त्रीका अनुसार हिन्दू धर्मग्रन्थमा कात्यायनी देवीलाई साहस र शक्तिको प्रतीकका रूपमा वर्णन गरिएको छ। यज्ञ, दान तथा अन्य पुण्यकर्म र शुभकार्यमा आसुरी प्रवृत्तिबाट उत्पन्न हुने विघ्नबाधा हटाउन देवी कात्यायनीको अवतरण भएको धार्मिक मान्यता रहेको छ।
कात्यायनी देवीको उपासना गर्नाले रोग, शोक, सन्ताप र भय नष्ट हुने धार्मिक विश्वास रहेको डा। शास्त्री बताउँछन्।
कात्यायनी देवीको स्वरूप
धार्मिक ग्रन्थहरूमा कात्यायनी देवीको स्वरूप दिव्य र स्वर्णसमान तेजस्वी रहेको उल्लेख गरिएको छ। सिंहलाई वाहनका रूपमा ग्रहण गर्ने देवीका चार हात छन्। तीमध्ये दुई हात अभय र वरदमुद्रामा रहेका छन् भने अन्य दुई हातमा तरबार र कमलको फूल रहेको धार्मिक वर्णन पाइन्छ।
पूजा विधि
कात्यायनी देवीको पूजा गर्दा सर्वप्रथम कलश तथा त्यसमा आह्वान गरिएका देवीदेवताको पूजा गरिन्छ। त्यसपछि देवीको परिवारमा समावेश देवीदेवताहरूको आराधना गरी कात्यायनी देवीको पूजा गर्ने परम्परा छ।
पूजा सुरु गर्दा हातमा फूल लिएर देवीलाई प्रणाम गर्दै मन्त्रको ध्यान गरिन्छ। देवीको पूजा सम्पन्न गरेपछि महादेव, परमपिता तथा देवी लक्ष्मीसहित भगवान् श्रीहरिको पूजा गर्ने धार्मिक विधि रहेको छ।
नवरात्रको छैटौँ दिन कात्यायनी देवीको आराधना गरी भक्तजनहरूले सुख, शान्ति, समृद्धि तथा परिवारको कल्याणको कामना गर्ने धार्मिक परम्परा रहिआएको छ।
प्रतिक्रिया