मौसम पूर्वानुमान

आज कस्तो रहला देशभरको मौसम ?

शुक्रबार, ३० असोज २०८३, ०७ : ३५

काठमाडौं- देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा विभिन्न प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बादल लागेको छ भने लुम्बिनी प्रदेशसहित अन्य प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भूभागमा सामान्यतया बादल लाग्नेछ भने पहाडी भूभागमा आंशिक बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि आंशिक बदली हुने अनुमान गरिएको छ। बाँकी तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।

आज हिमाली भूभागका केही स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ। यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थान तथा अन्य पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

त्यसैगरी, आज राति हिमाली भूभागमा सामान्यतया बादल लाग्ने र पहाडी क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

रातिको समयमा तराईका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ।

शुक्रबार, ३० असोज २०८३, ०७ : ३५

प्रतिक्रिया