बैङ्कले घरजग्गा होइन आयोजनालाई धितो मानेर कर्जा दिनुपर्छ: अर्थमन्त्री महत

३ महिना अगाडि

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले हिजोका दिनमा बैङ्कबाट भएको लगानी ठीक ठाउँमा नभएकै कारण अहिले वित्तीय क्षेत्रमा समस्या देखिएको बताएका छन् ।

राष्ट्रिय वाणिज्य बैङ्कको ५९औँ वार्षिकोत्सवमा सम्बोधन गर्दै  अर्थमन्त्री महतले शेयर बजार र जग्गामा धेरै कर्जा विस्तार भएको र त्यो बेला ऋण लिएका ऋणीहरु अहिले समस्यामा परेका  बताएका छन्। डा महतले भने “हाम्रा आवश्कता धेरै छन् । स्रोत साधन निकै कम छ । खर्चको प्राथमिकिकरण गर्न आवश्यक छ । राज्यको स्रोत साधनलाई बढीभन्दा बढी प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्छ ।”

बैङ्क तथा वित्तीय संस्थाले घरजग्गा धितो राखेर कर्जा दिनुको सट्टा विभिन्न खालका आयोजनालाई धितो मानेर कर्जा दिने प्रवृत्तिको विकास गरिनुपर्ने महतको भनाई छ । पूर्वाधार र संरचनाका हिसाबले सार्वजनिक क्षेत्र निकै राम्रो भएपनि सहज सेवा प्रवाहमा चुक्दा बदनाम हुनुपरेको उनले बताए । 

सरकारी भएकै कारण राष्ट्रिय वाणिज्य बैङ्कले अपेक्षित प्रगति गर्न नसकेको उनले भनाइ छ। मन्त्री डा.महतले वाणिज्य बैंक नम्बर वान बैंक हुनसक्ने दाबी गरेका छन्। सार्वजनिक बैंक भएकाले यो नम्बर वान हुन नसकेको उनको भनाइ छ ।

उनले भने ‘यो कुरालाई स्वीकार गरेर हामी अगाडि बढ्यौं भने, कर्मचारीका सुविधाको कुरा केही पनि होइन । तपाईंहरुले माग गरेको ठूलो कुरा केही पनि छैन ।’ यो बैंकलाई नम्बर वान स्थानमा पु९याउन व्यवस्थापन र कर्मचारीबाट प्रतिबद्ध आउनुपर्छ । 

आफ्नो भनाइलाई अझै स्पष्ट पार्दै मन्त्री महतले भने , ‘त्यसका लागि निजी बैंकले जस्तै व्यवस्थापनले ९ बजेसम्म काम गर्नुपरे पनि तयार हुनुपर्छ । त्यहाँ यति बेला भन्न पाइँदैन । आज जतिबेलासम्म लाग्छ, त्यत्तिबेलासम्म काम गर्नुपर्छ । बजे भन्ने हुँदैन, अचेल बजे भनेको रिर्फेन्स मात्र हो । ५ बजेसम्म अफिस भनेको त्यो रिर्फेन्स हो । जति समय लागोस् काम पूरा हुनैपर्छ । 

अर्थमन्त्री डा महतले बैंकहरू अब ‘प्रोजेक्ट वेस’ कर्जा विस्तारमा जानुपर्ने बताएका छन् । उनले ‘ख’ वर्गका बैंकहरूले ‘प्रोजेक्ट वेस’ कर्जा विस्तार गर्नुपर्ने र बैंकहरूले जस्तो पनि धितो राखेर ऋण दिँदा समस्यामा परेको उनको भनाई थियो । जस्तो पनि कोल्याट्रोल राखेर कर्जा प्रवाह गर्नु हुँदैन । ग्राहक जस्तो भए पनि धितोबाट असुल्छु भन्ने सोचले हुँदैन,” उनले भने, “हिजो बैंकबाट गएको पैसा गलत ठाउँमा गयो । राष्ट्र बैंकले कन्ट्रोल गर्‍यो । अहिले केही सुधार भएको छ ।”
 

३ महिना अगाडि

प्रतिक्रिया