काठमाडौँ - खेलाडीहरुलाई खानाको डाइटमा अनिवार्य दुध तथा दुग्ध पदार्थ समाबेश गर्न नेपाल डेरी एसोसिएसनले एक निवेदन पेश गरि अनुरोध गरेको छ । निवेदनमा भनिएको छ :
महोदय , दुध एक पूर्ण पौष्टिक आहार हो । बालकदेखि वृद्धसम्म जस्तोसुकै अवस्थामा पनि सहजै सेवन गर्न मिल्ने अत्यन्तै पौष्टिक तत्वले भरिएको पदार्थ हो भन्ने कुरा तपाईं हामी सबैलाई थाहा नै भएको विषय हो । त्यसैले सबै खेलाडीहरुलाई अनिवार्य रुपमा उनीहरुले खाने खानामा दुध तथा दुग्ध पदार्थ समाबेश गराइदिनुहुन अनुरोध गरिन्छ ।
यस वर्ष दुग्ध क्षेत्रमा कहिल्यै नभोगेको नसुनेको ठूलो समस्या भोग्नु पर्यो । विगत वर्षहरूमा फागुनदेखि डेरी सेक्टरमा सिजन सुरु हुन्थ्यो र हाम्रो देशमा उत्पादन भएको दुधले नपुगेर डेरीहरूलाई बजारको माग पुर्याउन हम्मे हम्मे पर्दथ्यो । यस वर्ष भने त्यसको ठिक विपरीत सोही सिजन फागुनदेखि नै बजारमा दुध तथा दुग्ध पदार्थको माग अत्यन्तै कम हुन थाल्यो। उपभोग कम हुनुमा आर्थिक मन्दी, लम्पी स्किन रोग, सहरबाट मानिस विस्थापित, आर्थिक मन्दी आदि अनेकौं कारण भए भने होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस नचल्नुले पनिनखपत कम हुन गयो । अर्को कुरा यहाँ दुधको मूल्य बढ्दा भारतको भन्दा केही महङ्गो भएर भारतको सीमाबाट यता दुध तथा दुग्ध पदार्थ आयात पनि अर्को कारण बन्यो । यी यावत कारणले गर्दा यहाँ खपत कम हुन गई मिल्क होलिडे रोक्न हाम्रो देशका डेरी उद्योगहरूले किसानको दुध निरन्तर खरिद गरी पाउडर दुध बनाएर राख्नु पर्ने बाध्यता बन्यो । पाउडर बनाउँदा बटर पनि निस्कने हुँदा हाल डेरी उद्योगहरूमा करिव बटर र धुलो दुध गरि ५ अर्ब रकम बराबरको स्टक भएर धेरै डेरी उद्योगहरूले किसानको भुक्तानी समयमै गर्न सकेका छैनन् ।
यसले किसानलाई अत्यन्तै कठिन भएको छ । समयमा भुक्तानी नपाउँदा दैनिक जीवन अस्तव्यस्त हुनुका साथै गाई भैँसीलाई नियमित दाना पानीसमेत खुवाउन किसानलाई कठिन भएको छ । सामान स्टक भएर चालु पुँजी नभएका कारण डेरी उद्योगमा यस्तो आर्थिक समस्या भएको हो ।
नेपालमा रहेका किसान र उद्योग बचाउनु हामी आम नेपाली सबैको कर्तव्य हो । त्यसैले सबै मिलि दुध तथा दुग्ध पदार्थ बढीभन्दा बढी खपत गर्ने र कतै जाँदा कोसेलीको रूपमा पनि दुध तथा दुग्ध पदार्थ नै लगी नेपालका किसान र उद्योग बचाउने अभियानमा साथ दिन आमजनसमुदाय सबैलाई नेपाल डेरी एसोसिएसन विनम्र अनुरोध गर्दछ । साथै सहकारी लगायत अन्य संघ संस्थाको साधारणसभा लगायतका अन्य कार्यक्रममा आउने अतिथिलाई मायाको चिनो दिँदा पनि दुध तथा दुग्ध पदार्थ घिउ, पनिर, गुद्पाक, पुस्टकारी, छुर्पी, खुवा आदि नै प्रयोग गरि आम किसान र उद्योगलाई सहयोग पुर्याउन एसोसिएसन आग्रह गर्दछ ।
यसरी सबै नेपालीले कुनै पनि व्यवसायमा परेको समस्या हल गर्न एकअर्कामा साथ दिँदा यसले ठूलो टेवा पुग्नुको साथै यसले विशेष महत्व पनि राख्दछ । आशा छ सबै निकायले अहिलेको डेरी क्षेत्रको समस्या बुझी दुध तथा दुग्ध पदार्थ भरपुर उपभोग गरी कतै पाहुना जाँदा पनि दुग्ध पदार्थ नै कोसेलीको रूपमा प्रयोग गर्नुहुने छ । साथै सबै डेरी उद्योगी साथीहरू एवं नेपाल डेरी एसोसिएसनका सदस्यहरूलाई आआफ्नो तर्फबाट किसानलाई गरिदिनुपर्ने भुक्तानी समय मै गरिदिनुहुन हुन पनि आग्रह गर्दछौँ ।
प्रतिक्रिया