काठमाडौँ - काभ्रेपलाञ्चोकस्थित अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा सडक खण्ड विस्तारको काम सुस्त भएको छ ।सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण कम्पनी गौरी पार्वती निर्माण सेवा प्रालिबीच २२ महिनामा सडक खण्ड विस्तार एवं स्तरोन्नतिको काम सक्ने गरी २०७९ जेठ २० गते सम्झौता भएको थियो । तर सम्झौताको करिब दुई महिना बाँकी रहँदापनि कम्पनीले सम्झौताअनुसार काम नगरेर अलपत्र पारेपछि ठेक्का तोड्न लागिएको कार्यालयले सोमबार सूचना जारी गर्दै जनाएको छ ।
पटक–पटक लिखित तथा मौखिक ताकेता गर्दा पनि निर्माणको काम बीचमा छाडेर कम्पनी सम्पर्कविहीन भएकोले सूचना जारी गर्दै ठेक्का नतोड्नुपर्ने कुनै पनि कारण भए सात दिनभित्र स्पष्टीकरण पेस गर्न कार्यालयले निर्माण कम्पनीलाई समय दिएको छ ।उक्त सडक खण्ड विस्तारका लागि व्यवसायीसँग रु २० करोड १९ लाख ४६ हजार पाँच पाँच सय एकमा सम्झौता गरिएको थियो । कार्यालयले ठेक्का तोडेर कार्यसम्पादन जमानतबापतको रकमसमेत जफत गर्ने योजना बनाएको जनाइएको छ । साथै बाँकी काम सम्पन्न गर्न लाग्ने लागतसमेत यसै निर्माण कम्पनीबाट असुलउपर गरिने कार्यालयले जनाएको छ । निर्माणकार्यका लागि हाल आधा दर्जनको सङ्ख्यामा मजदुरको भरमा निर्माण कम्पनीले समय बिताइरहेको छ । जिल्ला तहमा उक्त कम्पनीलाई म्याद थप नगर्न दबाब बढिरहेको छ ।
केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्र गर्न लागिएको हो ।कार्यालयका इञ्जिनियर नारायणप्रसाद लामिछानेका अनुसार उक्त सडकखण्डको ठेक्का लिएको निर्माण व्यवसायीले काममा ढिलाइ गरेका हुन् ।डिभिजन कार्यालयले निर्माण व्यवसायीले सुरुआती चरणदेखि नै काममा ढिलाइ गरेपछि कार्यालयले पटक–पटक पत्र काटेर ढिलाइ हुनुको कारण सोधेको उनले बताए ।उनका अनुसार निर्माण व्यवसायीले कुनै पनि पत्रको जवाफ पठाउने गरेका छैनन् । पत्रको बेवास्ता गरेपछि कार्यालयले पुनः पटक–पटक सार्वजनिक सूचना जारी गर्दै गैरजिम्मेवारीपन देखाएको जनाउँदै समयसीमा दिएर लिखित स्पष्टीकरण पेस गर्न निर्माण कम्पनीलाई निर्देशन दिँदै आएको थियो ।सडकमा गुड्ने मालवाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन कार्यालयले नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र आस्फाल कालोपत्र गर्ने कार्यालयले जनाएको छ ।
प्रतिक्रिया