सरकारले सूचना र प्रविधि सम्बन्धी कानुनको तयारी गरिरहेको  छ :सञ्चार मन्त्री शर्मा

२ महिना अगाडि

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सूचना र प्रविधि सम्बन्धी कानुनको तयारी गरिरहेको जानकारी दिएकी छन् । सूचना र प्रविधिको विकासका लागि सरकार आवश्यक कानुनी, नीतिगत र संरचनात्मक विकासमा जुटेको बताएकीछन् ।

काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री शर्माले नेपालमा पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरी अहिले कार्यान्वनमा ल्याइएको पनि बताइन् । उनले कानुनसँगै राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना, राष्ट्रिय सूचना प्रविधि केन्द्रको पुनर्संरचना लगायतका संरचनागत काम पनि अघि बढाउन खोजिरहेको जानकारी दिइन् ।

मन्त्री शर्माले सूचना र प्रविधि क्षेत्रमा विकासका प्रयोग बढाउन, नवीन प्रविधिलाई आत्मसाथ गर्दै आविष्कार र नवप्रबर्धनमा जोड दिनुपर्ने बताइन् । रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स, एआई जस्ता प्रविधिको आत्मसाथ गर्दै आगामी दिनमा विकासमा नवीन प्रविधिका लागि पनि स्पष्ट नीतिगत कानुनी र संरचनात्मक व्यवस्था गर्नुपर्ने आवश्यकता उनको भनाइ थियो ।

‘सूचना र प्रविधिको विकासका लागि सरकार आवश्यक कानुनी, नीतिगत र संरचनात्मक विकासमा जुटेको छ,' मन्त्री शर्माले भनिन्, 'सूचना र प्रविधि असाध्यै धेरै महत्वपूर्ण कुरा हो । नेपालमा पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरी अहिले कार्यान्वनमा ल्याइएको छ । डेटा सुरक्षा, साइबर सुरक्षा लगायतका क्षेत्र समेटेर सूचना र प्रविधि सम्बन्धी कानुनको तयारी गरिरहेका छौँ ।'

मन्त्री शर्माले सूचना प्रविधिलाई सुशासन र समृद्धिको आधार बनाइनुपर्ने पनि बताएकी छन् । सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्रमुख कार्यभारका रूपमा अघि बढाएको भन्दै उनले १६औँ आवधिक योजनामा सूचना प्रविधिलाई प्राथमिकतामा राखिएको पनि बताइन् ।

२ महिना अगाडि

प्रतिक्रिया