एनसेलद्वारा मधेश र गण्डकी प्रदेशमा फोरजी सेवा थप सुधार

२ महिना अगाडि

काठमाडौँ - आफ्नो फोरजी सेवाको गुणस्तर अझै सुधार गर्ने कामलाई तिब्रता दिदै एनसेलले मधेश र गण्डकी प्रदेशका विभिन्न जिल्लाका स्थानिय स्तर र क्षेत्रमा फोरजी नेटवर्क सुधार गरेको छ । यससँगै यी क्षेत्रका ३० भन्दा बढी स्थानका ग्राहकहरूले अब फोरजीको सुदृढ नेटवर्क र मोबाइल ब्रोडब्याण्डबाट फाइदा लिन सक्छन् ।

आफ्नो सेवा विस्तार गर्दै आधुनिक मोबाइल ब्रोडब्यान्ड कनेक्टिभिटीमा सबैको पहुँच सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धता बमोजिम एनसेलले यी स्थानहरुका फोरजी सेवामा थप सुधार गरेकोे हो । मधेश प्रदेशका दुई दर्जनभन्दा बढी स्थानमा फोरजी सेवामा सुधार गरिएको छ, जसले ग्राहकहरूलाई थप सुधारिएको मोबाइल ब्रोडब्यान्ड र कनेक्टिभिटीको पहुँचबाट फाइदा लिन सजिलो बनाएको छ । फोरजी सेवामा सुधार भएका क्षेत्रहरुमा औराही, बलवा, बटेश्वर, चन्द्रनगर, जनकपुरधाम, लोहरपट्टी, मटिहानी, मिथिला बिहारी, नहरा, नवराजपुर, पिपरालगायतका स्थानहरु रहेका छन् ।

त्यसैगरी ग्राहकले अब गण्डकी प्रदेशको आँबूखैरेनी, घरपझोङ, फेदीखोला, पोखरा, पुतलीबजार र ताराखोलामा पनि सुधारिएको फोरजी नेटवर्कबाट फाइदा लिन सक्छन् । देशका अन्य स्थानहरुमा पनि सेवाको अवस्था हेरि आवश्यक लगानी गर्दै विस्तारित फोरजी सेवामा थप सुधार गर्ने योजना रहेको छ । हालैमात्र एनसेलले सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशमा विभिन्न स्थानहरुमा फोरजी सेवा सुधार गरेको थियो ।

सेवा विस्तार र नेटवर्क सुधारसँगै एनसेलले ग्राहकले सुलभ दरमा मोबाइल ब्रोडब्यान्डको पहुँचबाट लाभ लिन सक्ने गरी विभिन्न आकर्षक अफरहरू पनि ल्याइरहेको छ । मंगलबार, एनसेलले तीन वटा डबल मजा प्याकहरू संचालनमा ल्याएको छ । यसमा ग्राहकले प्याकको भ्यालिडिटी समाप्त हुनुअघि फेरी सोही प्याक खरिद गरेमा डबल डेटा बोनस प्राप्तगरी यसको फाइदा लिन सक्छन् ।एक जिम्मेवार कर्पोरेट नागरिकका रुपमा एनसेलले मधेश र गण्डकी प्रदेशमा विभिन्न व्यवसायिक सामाजिक जिम्मेवारीका आयोजनाहरू पनि कार्यान्वयन गरेको छ । जस्तै आधुनिक डिजिटल ल्याब आयोजनाले सरकारी/सामुदायिक विद्यालयहरूका हजारौं विद्यार्थीहरुलाई आधुनिक सिकाइ विधिहरूमा पहुँचका साथ प्रत्यक्ष रूपमा लाभान्वित बनाएको छ भने एडप्ट ए स्कूल कार्यक्रमले विद्यालयका पूर्वाधार विकासमा योगदान गरेको छ । 

मधेस प्रदेशमा एनसेलले चार वटा सरकारी विद्यालयमा आधुनिक डिजिटल ल्याब स्थापना गरेको छ भने सात विद्यालयलाई कक्षाकोठा, शौचालय निर्माण, खानेपानी सुविधा र पुस्तकालय स्थापना गर्न सहयोग गरेको छ । त्यसैगरी, धनुषाधाममा ३३ हेक्टर जमिनमा ५० हजारभन्दा बढी रुख रोपिएको छ भने सीमान्तकृत समुदायका महिलालाई शिक्षित बनाउन वमन एडल्ट लिटरेसी कार्यक्रम सञ्चालन गरिएको छ ।त्यसैगरी गण्डकी प्रदेशमा एनसेलले पाँच वटा विद्यालयमा आधुनिक डिजिटल ल्याब स्थापना गरिएको छ भने एडप्ट ए स्कुल कार्यक्रममार्फत छ वटा विद्यालयलाई कक्षा कोठा निर्माण, खानेपानीको सुविधा, फर्निचर, शौचालय निर्माण र शैक्षिक सामग्री उपलब्ध गराईएको छ । व्यवसायिक सामाजिक जिम्मेवारीअन्तर्गत एनसेलले हालसम्म देशभर विभिन्न सामाजिक कार्यहरुमा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी योगदान गरिसकेको छ ।
 

२ महिना अगाडि

प्रतिक्रिया