काठमाडौँ - माघ महिनामा देशभर ४९ हजार २९० संख्यामा घरजग्गा कारोबार भएको छ । यो अघिल्लो महिनाको तुलनामा करिब ९ प्रतिशतले बढी हो। भूमि व्यवस्थापन तथा अभिलेख विभागले प्रकाशन गरेको तथ्याङ्क अनुसार माघ महिनामा देशभर ४९ हजार २९० संख्यामा घरजग्गा कारोबार भएको छ।
पुष महिनामा ४५ हजार २७७ संख्यामा घरजग्गा कारोबार भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कले देखाएको छ । यो हिसाबले घरजग्गाको कारोबार पुसको तुलनामा माघमा ८.८६ प्रतिशतले बढेको छ ।
घरजग्गा कोरोबार बढेसँगै राजश्व पनि बढेको देखिन्छ। विभागकाअनुसार माघमा कुल ४९ हजार २९० वटा घरजग्गा लिखत पास भएको मध्ये नामसारी ४३८३ वटा, संशोधन १० हजार ४८२ वटा रहेका छन् । ३३ हजार २३४ जग्गा रोक्का भएको छ भने २८ हजार ५८६ जग्गा फुकुवा भएको छ।
त्यस्तै पुष महिनामा घरजग्गा कारोबारबाट सरकारलाई ३ अर्ब २० करोड ५२ लाख रुपैयाँ राजश्व प्राप्त भएको थियो भने माघ महिनामा ३ अर्ब ७१ करोड २८ लाख रूपैयाँ राजश्व प्राप्त भएको छ । तथ्याङ्क अनुसार यो पुसको तुलनामा १५.८४ प्रतिशतले बढी हो ।
सरकारले प्राप्त गरेको कुल राजस्वमध्ये सेवा कर २२ करोड ५१ लाख ५७ हजार ६७९ रुपैयाँ, रजिष्ट्रेसन दस्तुर २ अर्ब २४ करोड ९९ लाख ६१ हजार ७९३ रुपैयाँ र पुँजिगत लाभ कर १ अर्ब १९ करोड ९३ लाख ९६ हजार ७९९ रुपैयाँ तथा अन्य कर तथा दस्तुरहरु रहेका छन् ।
विभागका अनुसार माघमा सबैभन्दा धेरै जग्गाको कारोबार सुनसरीको भूमिसुधार तथा मालपोत कार्यालय इनरुवाबाट भएको छ । उक्त मालपोत कार्यालयबाट २ हजार ३२ वटा घरजग्गा कारोबार भएको छ ।
चालु आर्थिक वर्ष सुरु भएयता हेर्ने हो भने साउनमा ३९ हजार २६३ वटा घरजग्गा किनबेच भएको थियो । त्यस्तै, भदौमा ३५ हजार ६८६ वटा, असोजमा ४७ हजार ३९८ वटा, कात्तिकमा २६ हजार, मंसिरमा ४१ हजार ८५१ वटा र पुस महिनामा ४५ हजार २७७ वटा घरजग्गा कारोबार भएको थियो ।
प्रतिक्रिया