काठमाडौँ- देशका विभिन्न स्थानका किशानहरुले अहिले बिक्री भएको दूधको पैसा महिनौँसम्म पाएका छैनन् । आफुले पाउनुपर्ने दुधको भुक्तानी छिटो भन्दा छिटो पाउनुपर्छ भन्दै ठाउँ ठाउँका किशानहरु विरोधमा उत्रिएमा छन् । चितवनका किशानहरुले पनि भुक्तानी नपाएर विरोध प्रदर्शन गरेका छन् ।
चितवनका किसानले सडकमा दूध पोखेर विरोध जनाएका छन्। जिल्लाका एक सय १५ भन्दा बढी दुग्ध सहकारी आबद्ध संस्था चितवन जिल्ला दूध उत्पादक सहकारी संघको नेतृत्वमा दूध पोखेर विरोध जनाइएको हो। संघका अध्यक्ष किशोर बगालेका अनुसार किसानहरूले प्रधानमन्त्री, संघीय तथा प्रदेश कृषिमन्त्रीलगायतका सम्बन्धित ठाउँमा पटकपटक समस्या राख्दासमेत समाधान नभएकाले आन्दोलनस्वरूप दूध पोखेको बताए।
चितवनमा उत्पादन हुने साढे तीन लाख लिटर दूधमध्ये डेढ लाख जिल्लाबाहिर खपत हुँदै आएको छ। अधिकारीका अनुसार बक्यौता माग्दा दूध उद्योगले खरिद गर्न मान्दैनन्। चितवनका केही दूध सहकारीले साउनदेखिकै भुक्तानी नपाएका उनले बताए। उनले भने, ‘सहकारीले बाध्य भएर दूध संकलन गर्न छाड्ने अवस्था आएको छ।’
जिल्ला प्रशासन कार्यालय चितवनमा प्ले कार्ड प्रदर्शन र नारा–जुलुससहित गएको समूहले पूर्व–पश्चिम राजमार्गअन्तर्गत केन्द्रीय बसपार्कमा दूध पोखेको हो।
विरोध प्रदर्शनअघि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घमा आवद्ध किसानले दूध तथा दुग्धजन्य पदार्थ बिक्री–वितरणमा सहज गर्नुपर्ने र किसानको दूधको भूक्तानी नियमित उपलब्ध गराउनुपर्ने माग राखेका थिए । जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ जसमध्ये एक लाख ५० हजार लिटर दूध जिल्लाबाहिर बिक्री गर्ने गरिएको छ ।
सङ्घका अध्यक्ष बिशोर बगालेले पाँच दिनदेखि जिल्लामा उत्पादित दूध बिक्री हुन नसकेको भन्दै बजारको सहजीकरणका लागि सरकारसँग आग्रह गर्दा सुनुवाइ हुन नसकेको गुनासो गरे । आफुहरुले प्रदेश सरकार र सङ्घीय सरकारका मन्त्री, मुख्यमन्त्री र प्रधानमन्त्रीलाई दुग्ध उत्पादक किसानको समस्याका बारेमा जानकारी गराउँदा पनि समस्या समाधान हुन नसकेपछि आन्दोलनमा उत्रनु परेको उनले जानकारी दिए ।
अध्यक्ष बगालेले भने, “चितवनका दुग्ध उत्पादक किसानले साउनयताको ५२ करोड निजी डेरी उद्योग र दुग्ध विकास संस्थानसँग लिन बाँकी छ । भुक्तानी समयमा नपाउँदा किसान मारमा परेका छन् ।” दूधको भुक्तानी नपाउनु र दूध बिक्री नहुँदा पशुपालक किसान पलायन हुने अवस्थामा आएको उनले बताए । केन्द्रीय दुग्ध उत्पादक सहकारीका उपाध्यक्ष भागिरथ तिमिल्सिनाले किसानका समस्याप्रति सरकारको ध्यान नपुगेपछि आन्दोलनमा आउनु परेको बताए । उनले भने, “विकल्पको खोजीमा हामी धेरै भौंतारियौँ । विकल्प नपाएर सडकमा आएका हौँ ।” सरकारले आफूहरुको माग सम्बोधन गर्नुपर्ने भन्दै उनले बजारमा प्रतिबन्धित दुग्धजन्य वस्तु आउँदा समस्या भएको उपाध्यक्ष तिमिल्सिनाले बताए । दुग्ध उत्पादक किसानको समस्या समाधान नभए थप आन्दोलनमा जान किसान तयार रहेको उनको भनाइ थियो ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले किसानका समस्या समाधान गर्न स्थानीय प्रशासनले तदारुकताका साथ काम गर्ने बताए । उनले भने, “किसानका जायज मागलाई सम्बोधन गर्दै बजारमा देखिएका समस्या समाधान गर्नतर्फ लाग्छौँ ।”
प्रतिक्रिया