पछिल्लो सात महिनासम्म कूल आयातमा २.३१ प्रतिशतले घट्यो , निर्यात कति ?

बुधबार, ०९ फागुन २०८०, ०८ : ४४

काठमाडौं : चालु आर्थिक वर्षको पछिल्लो ७ महिनासम्ममा मुलुकले ८ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ।

 गत आर्थिक वर्षको सोही अवधिमा ९ खर्ब १९ अर्ब १६ करोड ५३ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो। गत आवको ७ महिनाको तुलनामा चालु आवको ७ महिनासम्म कूल आयात २.३१ प्रतिशतले घटेको छ। 

त्यस्तै भन्सार विभागको माघ मसान्तसम्मको सार्वजनिक विवरण अनुसार ७ महिनाको अवधिमा नेपालको निर्यात पनि ७.०७ प्रतिशतले ओरालो लागेको छ । सो अवधिमा नेपालबाट ८६ अर्ब ८३ करोड बराबरको वस्तु निर्यात भएको विभागले जनाएको छ। 

गत वर्षको ७ महिनाको अवधिमा ९३ अर्ब ४३ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । सो अवधिमा नेपालको वैदेशिक व्यापार ९ खर्ब ८४ अर्ब ७७ करोड ४८ लाख रुपैयाँ बराबरको भएको छ । गत वर्षको यही अवधिमा १० खर्ब १२ अर्ब ५९ करोड ७६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो । 

विभागका अनुसार माघ मसान्तसम्म नेपालको व्यापार घाटा ८ खर्ब ११ अर्ब ११ करोड २९ लाख रुपैयाँ बराबर रहेको छ । गत वर्षको सोही अवधिमा ८ खर्ब २५ अर्ब ७३ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार घाटा भएको विभागको तथ्याकंमा उल्लेख छ । 

बुधबार, ०९ फागुन २०८०, ०८ : ४४

प्रतिक्रिया