भद्रपुरमा दूषित मासु बिक्री गर्ने फ्रेस हाउसलाई जरिवाना

आइतबार, १३ फागुन २०८०, १३ : ३५

काठमाडौँ- झापाको भद्रपुरमा दूषित मासु बिक्री गर्ने फ्रेस हाउसलाई ११ हजार रुपैयाँ जरिवाना तिरतएको छ । झापाको भद्रपुर नगरपालिकाले मासु पसल र मिठाइ पसलको अनुगमन गर्दा अनुगमनका क्रममा भद्रपुर–८ सगरमाथा चोकस्थित आधुनिक प्रेस हाउसमा दूषित मासु फेला परेकाले ११ हजार रुपैयाँ जरिवाना गरिएको हो ।

भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीको नेतृत्वमा भद्रपुर नगरका एमडी मासु पसल, आधुनिक प्रेस हाउससहित ८ वटा माछा– मासु पसल र दुई वटा मिठाइ पसलमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा आधुनिक फ्रेस हाउसमा दूषित मासु फेला परेकाले ११ हजार रुपैयाँ जरिवाना गरिएको भद्रपुर नगरपालिकाका अधिकृतले जानकारी दिए ।

उक्त फ्रेस हाउसबाट २० केजी मासु समेत जफत गरेर नष्ट गरिएको उनले बताए । अनुगमन गरिएका अधिकांश मासु पसल सरसफाइ नभएको, मूल्य सूची नराखिएका, इजाजत नलिएको, कर नतिरेकाले मापदण्ड अनुसार सञ्चालन गर्न निर्देशन दिइएको उपप्रमुख कार्कीले बताइन् । उपप्रमुख कार्कीले बारम्बार सचेत गराउँदा पनि मासु पसलहरूले अटेर गरेको बताउँदै अब उप्रान्त त्यस्तो पाइए कडा कारबाही गरिने बताइन् । मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य वस्तुमा हेलचेक्र्याइँ गर्ने कसैलाई छुट नभएको बताउँदै उनले बारम्बार सचेत गराइ रहेकाले अब पनि नमाने कडा कारबाही गर्ने दाबी गरिन् । भद्रपुर नगरपालिकाले अनुगमन गर्दा सच्याउने भन्दा पनि व्यवसायी स्वयं चनाखो हुनुपर्ने बताउँदै उनले स्वस्थ्य खाद्यवस्तु बिक्री गर्नु व्यवसायीको दायित्व भएको जनाइन् ।

कार्कीको नेतृत्वमा गएको अनुगमन टोलीले झापा चोकको रवि होटेल, मन्त्री चोकको हिमाल कोल्ड सेन्टरमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा हिमाल कोल्ड सेन्टरमा मिति गुज्रिएको सामान राखिएको र अनुमति बिना मदिराजन्य वस्तु बिक्री गरेको पाइएकाले इजाजत लिन निर्देशन दिइएको, होटेलमा सरसफाइलगायतका काम गर्न निर्देशन दिइएको कार्कीले बताइन् । अनुगमन टोलीमा उपप्रमुख कार्की, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, जिल्ला प्रशासन कार्यालयका जीवन पौडेल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका संगीता साह, झापा उद्योग वाणिज्य संघका सञ्जय घोष, नापतौल कार्यालयका सहायक निरीक्षक अमितकुमार कर्ण, नगरपालिकाका सुनिल कर्ण, वडा प्रहरी कार्यालयका निरकुमार श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

आइतबार, १३ फागुन २०८०, १३ : ३५

प्रतिक्रिया