गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि गर्‍यो ठेक्का आह्‍वान

२ महिना अगाडि

 काठमाडौँ । चितवनको भरतपुरमा बजेट अभावले निर्माण अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको थप पूर्वाधार निर्माणका लागि टेन्डर आह्वान भएको छ ।महानगरपालिकाका उपनिर्देशक जगन्नाथ अर्यालले ३० दिनको म्याद राखेर एक अर्ब १० करोडको ठेक्का आह्वान गरिएको जानकारी दिए । उनले रङ्गशालालाई महानगरले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै यसलाई तोकिएको मितिभन्दा अगाडि नै पूरा गर्ने अर्यालले बताए ।

महानरपालिकाका वरिष्ठ इन्जिनियर सन्तोष आचार्यले थप १० हजार क्षमताको प्यारा फिटसहित मैदानलगायतका भौतिक पूर्वाधार निर्माणका लागि ३० महिनाभित्र काम गरिसक्ने गरी टेन्डर निकालिएको बताए । सुरुमा रङ्गशाला निर्माण थालेको धुर्मुस सुन्तली फाण्डेशनले ५ हजार बस्ने प्याराफिट तयार गरिसकेको छ । वरिष्ठ इन्जिनियर आचार्यका अनुसार मैदानसहित ५ वटा पिच, मैदानमा ड्रेनऐजसहित पछिल्लो प्रविधि अपनाएर मैदान निर्माण, २ वटा ३ र३ तलाको टावर बनाइने छ ।

एउटामा भीआईपी र खेलाडी रहनेछन् भने अर्कोमा मिडिया, अम्पायर र कर्पोरेट बक्सहरू हुनेछन् । यस्तै, गेट, कम्पाउन्डवाल लगायतका थप पूर्वाधार पनि यही भित्र बन्ने आचार्यले जानकारी दिए । ३० महिना ठेक्काको म्याद तोकिए पनि सोभन्दा अगाडि नै रङ्गशालाको काम सक्ने गरी महानगरले सहजीकरण गर्ने वरिष्ठ इन्जिनियर आचार्यले बताए ।

cricket studium

यसअघि रङ्गशाला सम्बन्धी नै कामकाज गरेको ५८ करोडभन्दा बढी टर्न ओभर गरेको अनुभवी ठेकेदार कम्पनी हुनुपर्ने मापदण्डमा राखिएको छ । महानगरपालिका प्रमुख रेनु दाहालले रङ्गशालाको निर्माण महानगरको गौरवको परियोजना भएको बताइन् । उनले ठेक्का आह्वानसँगै रङ्गशाला निर्माण सम्पन्न गर्ने आफ्नो सङ्कल्प अब पूरा हुने बताइन् ।

‘रङ्गशाला निर्माणको काम विभिन्न कारणले रोकिँदा म निकै दुःखी थिए । यसलाई जसरी पनि बनाउनुपर्छ भनेर लागे । महानगरपालिकाले मात्रै गरेर केही हुने अवस्था थिएन, सबै पक्षलाई मिलाउनुपर्ने झन्झट नै थियो,’ उनले भनिन्, ‘धेरै ठुला बाधाहरू फुकाएर रङ्गशाला बन्ने कुरा सुनिश्चित भएको छ, सारा क्रिकेटप्रेमीहरु, भरतपुरवासीहरु खुसी हुनुपर्ने दिन हो, मेरो सङ्कल्प थियो, त्यो पूरा हुँदैछ ।’

यसअघि गत माघ २३ गते बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले रङ्गशाला निर्माणका लागि आवश्यक ७५ करोड रुपैयाँको ७० प्रतिशत अर्थात् ५२ करोड ५० लाख रुपैयाँ दिने निर्णय गरेको थियो । बाँकी रकम भरतपुर महानगरपालिकाले खर्च गर्ने छ । सङ्घीय सरकारसँग पनि रङ्गशाला निर्माणका लागि रकम माग गरिएको महानगरपालिकाले जनाएको छ । सङ्घीय मन्त्रिपरिषद्को गत कात्तिक २३ गते बसेको बैठकले गौतम बुद्ध क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको परियोजनाभित्र समेटेर बाँकी काम तीनै तहका सरकारहरू मिलेर पूरा गर्ने निर्णय गरेको थियो । सो निर्णयमा रङ्गशालाको निर्माणको मुख्य पहलकदमी र समन्वय भने महानगरपालिकाले गर्ने उल्लेख छ ।

महानगरले सङ्घीय सरकारसँग पनि रङ्गशालाको बाँकी कामका लागि रकम माग गरेको महानगरका उपनिर्देशक अर्यालले जानकारी दिए । उनका अनुसार रङ्गशालाका सम्पूर्ण डकुमेन्ट र प्रक्रिया पूरा गरिएको छ । रङ्गशालाको पहिलो फेजको काम लागि टेण्डरमा आह्वान गरिएको बताउँदै उपनिर्देशक अर्यालले यो निर्माणको प्रक्रियामा रहँदा दोस्रो फेजको कामका लागि पूर्व तयारी गर्ने जानकारी दिए ।

धुर्मुस सुन्तली फाण्डेशनले बनाउन सुरु गरेको रङ्गशाला बजेट अभाव भएको भन्दै २०७८ साउन २२ गतेबाट पूर्ण रूपमा काम रोकिएको थियो । फाउण्डशेनले बनाएको विस्तृत परियोजना प्रतिवेदनलाई (डीपीआर) रिभाइज गरिएको महानगरका उपनिर्देशक अर्यालले जानकारी दिए ।

रिभाइज गरिएको डीपीआरमा केही पूर्वाधारहरु थप्नुपर्ने र केही हटाउनुपर्ने देखिएको अर्यालले जानकारी दिए । त्रिभुवन विश्वविद्यालयको नाममा रहेको तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोग चलन गरेको २० विगाहा १९ कठ्ठा जग्गामा धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण थालेको रङ्गशालाको काम ३९ प्रतिशत काम सकिएपछि बजेट अभाव भएको बन्दै निर्माण रोकिएको थियो । कुल ३० हजार दर्शक क्षमताको रङ्गशालाको प्याराफिटमा ३ हजार दर्शक बस्न मिल्ने प्याराफिट बनिसकेको छ । प्याराफिटका लागि २८६ पिलर उभ्याइएको छ ।
थप निर्माणमा स्रोत जुटाउन नसकेपछि धुर्मुस सुन्तली फाउण्डेशनले २०७८ पुस २ गते महानगरपालिकालाई स्वामित्व लिन अनुरोध गर्दै पत्र लेखेको थियो ।
 

२ महिना अगाडि

प्रतिक्रिया