काठमाडौँ - पानीमा केमिकल मिसिएका कारण धान र उखु क्षति भएको पुष्टि भइसकेको छ तर उक्त केमिकल कहाँबाट आयो, पत्ता लाग्न सकेको छैन ।
नगरपालिका–४ परासनका प्रमोद रानाको एक बिघाको धान पूरै सुक्यो । करिब ५ बिघाको उखुले पनि उत्पादन दिएन । गत साउन अन्तिम साता दोदा नदीमा आएको बाढीले डुबान भएको क्षेत्रमा एकाएक धान र उखु सुकेको थियो । डुबान घटेपछि उखु पलाए पनि धान भने पलाएन । पूरै सुकेर गयो । केमिकलले धानमा क्षति गर्दा अनुसन्धान न किसानलाई राहत पुनर्वास नगरपालिकाको कृषि शाखाले संकलन गरेको विवरणअनुसार त्यति बेला दोदा नदीमा आएको बाढीले डुबान भएको क्षेत्रमा करिब अढाई सय बिघामा धानबाली र १ सय १० बिघाको उखु नष्ट भएको थियो । एकाएक धान र उखु सुकेपछि किसान चिन्तित भए ।
त्यसलगत्तै कृषि शाखाले अनुगमन गरेर किसानबाट निवेदन पनि माग गर्यो । ‘निवेदन त दियौं तर हालसम्म कुनै सुनुवाइ भएन, हामीले केही राहत पनि पाएनौं,’ रानाले भने, ‘धान र उखु लगाउन भएको खर्चसमेत डुब्यो ।’ उखु र धान लगाउन ३ लाख रुपैयाँ हाराहारी खर्च भएको थियो । डुबानपछि पलाएको उखु सप्रेन । धान झन् पलाउँदै पलाएन । दोदाको बाढीले डुबान भएको पुनर्वास–५ को सिमरी र ४ को परासनमा धान र उखु सुकेको थियो । धानमा धेरै क्षति भएको थियो । पानीमा केमिकल मिसिएका कारण धान र उखु क्षति भएको पुष्टि भइसकेको छ । तर उक्त केमिकल कहाँबाट आयो भन्ने हालसम्म पत्ता लाग्न सकेको छैन । नजिकै रहेको भागेश्वर चिनी मिलको लापरबाहीले उक्त केमिकल पानीमा मिसिएको पीडित किसानको आरोप छ । कृषि प्राविधिक पनि यही अनुमानमा छन् । सुगर मिल व्यवस्थापनले भने उक्त केमिकल मिलबाट नबगेको दाबी गर्दै आएको छ । कृषि शाखाले डुबान घटेपछि धान र उखु सुकेको क्षेत्रबाट पानीको नमुना संकलन गरेको थियो । दुई पटक संकलन गरिएको उक्त नमुना परीक्षण गर्दा केमिकल अक्सिजन डिमान्ड ९सीओडी० र बायोकेमिकल अक्सिजन डिमान्ड ९बीओडी० को मात्रा भेटिएको थियो । ‘केमिकलका कारण धान र उखुसँगै माछा र भ्यागुतासमेत मरेको पुष्टि त भयो । तर त्यो केमिकल कहाँबाट आयो भन्ने पत्ता लागेन,’ नगरपालिकाका कृषि शाखा प्रमुख कर्ण शाहीले भने, ‘किसानलाई पनि राहत दिन सकिएन ।’ उनका अनुसार नगर प्रमुखसहितको टोलीले आवश्यक छानबिनका लागि जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारीसँग आग्रह गरेको थियो । छलफलमा केन्द्रबाट विज्ञ टोली मगाउन पहल गर्ने निर्णय भएको थियो । तर न विज्ञ टोली आयो न किसानले राहत पाए ।
प्रतिक्रिया