पर्यटन सूचना केन्द्रको उद्घाटन

१ महिना अगाडि

काठमाडौँ -  विरेठाँटीमा एकीकृत पर्यटन सूचना केन्द्रको उद्घाटन भएको छ । गण्डकी प्रदेश सरकार तथा गाउँपालिकाको संयुक्त लागत साझेदारीमा ६० लाख लगानीमा स्थापना गरिएको केन्द्रको गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीले बुधवार आयोजित एक समारोहका बिच उद्घाटन गरेका हुन् ।

 

केन्द्रको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले अन्नपूर्णले गण्डकी प्रदेशकै नमुना कार्य थालनी गरेको दाबी गर्दै यो सँगै पालिकाको पर्यटन क्षेत्रको विकासमा सार्थकता मिल्ने औँल्याए । उनले एकीकृत सूचना पर्यटन केन्द्र स्थापनाका लागि जग्गा दिने जग्गा दाता प्रति आभार प्रकट गर्दै नयाँ पदमार्गको खोजीमा पालिका रहेको पनि स्पष्ट पारे । विश्वकै उत्कृष्ट अन्नपूर्ण पदयात्रा मार्गको उत्कृष्टतालाई कायम राख्दै गाउँपालिकाको प्राकृतिक सम्पदा र परम्परागत कला तथा सांस्कृतिक सम्पन्नतालाई विश्व पर्यटक समक्ष प्रचार, प्रसार र प्रवर्द्धन गरी पर्यटन क्षेत्रको विकासमा नवीनता थप्न तथा एकीकृत पर्यटन व्यवसायलाई सुरक्षित, भरपर्दो र विश्वसनीय बनाउँदै पर्यटनको माध्यमबाट गाउँपालिकामा रोजगारीको अवसर सृजना गर्न एकीकृत पर्यटन सूचना केन्द्रको स्थापना र व्यवस्थापन गर्न लागिएको अध्यक्ष केसीको भनाई छ ।

अन्नपूर्ण गाउँपालिकाको गौरवको आयोजनाको रुपमा यो परियोजना पर्यटन मैत्री, प्रविधि मैत्री नमुना अन्नपूर्ण गाउँपालिका परियोजना अन्तर्गत सञ्चालन गरिएको प्रवक्ता भरतमान गुरूङले जानकारी दिए । यस एकीकृत पर्यटन सूचना केन्द्रमा सोधपुछरसहायता कक्ष, सेवा प्रवाह कक्ष, पर्यटन लाइब्रेरी, सङ्ग्रहालय तथा हस्तकला एवं आन्तरिक उत्पादन प्रदर्शन तथा बिक्री कक्षको व्यवस्था गरिने गुरूङले बताए । यस सूचना केन्द्रबाट सोधपुछ सहायता, गाउँपालिकाको पर्यटकीय, ऐतिहासिक, धार्मिक, स्थलको जानकारी, पदमार्ग रुट सम्बन्धित जानकारी, मौसम सम्बन्धित जानकारी, ट्रेकिङ गाइड सम्बन्धित जानकारी, संरक्षण क्षेत्र भित्र पालना गर्नुपर्ने नियम सम्बन्धित जनकारी, इमेल ईन्टरनेटमा पहुँच, जैविक विविधता, हिमाली क्षेत्र र संस्कृतिको अध्ययन अनुसन्धान, जलवायु परिवर्तन सम्बन्धी खोज अनुसन्धान, पर्यटन र प्रविधिको संयोजन सम्बन्धी जानकारी एवं खोज, समुदाय परिचालन सम्बन्धी नमुना, आकस्मिक उद्धार एवं आकस्मिक उपचारको लागि समन्वय, हराएका सामानको सम्पर्क लगायतका सेवा प्रदान गर्ने लक्ष्य राखिएको गाउँपालिकाका सूचना अधिकृत एवं शिक्षा तथा खेलकुद शाखा प्रमुख बलराम भुगाईले बताए । जसका लागि पालिकाले सिप मुलक तालीम मार्फत लाइसेन्स प्राप्त ३५ जना ट्रेकिङ गाइडहरु समेत तयार पारिसकेको छ भने पर्यटनसँग सम्बन्धित अन्य गतिविधि समेत सञ्चालन भइरहेका छन्। सूचना केन्द्रलाई समयानुकूल प्रविधिमैत्री बनाउँदै लैजाने गरी गाउँपालिका भित्रका पर्यटकीय, ऐतिहासिक, धार्मिक क्षेत्र, पर्यटन पदमार्ग, महत्वपूर्ण स्थानको जानकारी, ३६० डिग्री भ्यू, भर्चुअल टुर, फोटो, भिडियो, गाउँपालिकाका क्षेत्र भित्र गर्न सकिने क्रियाकलाप, होटल तथा होम स्टे विवरण सहितको पर्यटन पोर्टल एवम् मोवाइल एप्लिकेसन समेत सञ्चालनमा ल्याइएको प्रवक्ता गुरुङको भनाई छ । उद्घाटन कार्यक्रममा बोल्दै पूर्व जिविस सभापति पुण्यप्रसाद पौडेलले अन्नपूर्णलाई पर्यटकको हब बनाउन जोड दिँदै पर्यटनसँगै पालिकाले कृषिलाई पनि प्राथमिकता दिनुपर्ने औँल्याए । उनले अन्नपूर्ण संरक्षण क्षेत्रले पर्यटकसँग विभिन्न शीर्षकमा उठाउने रकमको केही हिस्सा पालिकाले पाउनुपर्ने गरी संघ सरकारको ध्यानाकर्षण गराउनुपर्ने धारणा राखे ।

गाउँपालिका पूर्व अध्यक्ष युवराज कुँवरले सूचना केन्द्र निर्माणको खुसीयाली साट्दै पर्यटनको राजधानी पोखरा तथा पोखराको पनि अन्नपूर्ण रहेको औँल्याए । उनले केन्द्र निर्माणसँगै विदेशी तथा स्वदेशी पर्यटकसँग पालिकाको सम्बन्ध थप सुमधुर बन्ने विश्वास व्यक्त गरे । उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारीले केन्द्र निर्माणको उद्देश्य पूरा हुने विश्वास व्यक्त गर्दै पर्यटकको बसाइँ बढाउन सबै लाग्नुपर्ने बताइन् । नेपाल लोकतान्त्रिक खेलकुद महासंघका अध्यक्ष देवेन्द्रकुमार शेरचन, टान गण्डकी अध्यक्ष धर्मराज पन्थी, प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटा, एमाले गाउँपालिका अध्यक्ष विवेक देवकोटा, माओवादी पालिका अध्यक्ष धर्मबहादुर गुरुङ, रास्वपा अन्नपूर्णका शोभाखर अधिकारी, राप्रपाका हरिराम भण्डारी, नेकपा समाजवादीका भरत देवकोटा, नेपाल समाजवादीका नेत्र चापागाईँ, पर्यटन व्यवसायी गुनबहादुर पुन, कर्मचारी पीताम्बर सुवेदीलगायतले पनि आ-आफ्नो धारणा राखेका थिए । उनीहरुले केन्द्र सञ्चालनको दिगोपनामा जोड दिँदै पदमार्ग निर्माणमा पनि पालिकाले ध्यान दिनुपर्ने उल्लेख गरे । कार्यक्रम बीच जग्गादाता नवप्रतिभा आमा समूहलाई सम्मान गरियो । त्यस्तै सहयोगी प्रगतिशील आमा समूह, दाङसिङ बाजा समूह तथा नवप्रतिभा भजन मण्डलीलाई पुरस्कृत गरियो । केन्द्र निर्माणसँगै अन्नपूर्ण पदमार्गको उत्कृष्टतालाई कायम राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। त्यस्तै पालिकाका प्राकृतिक सम्पदा, परम्परागत कला तथा सांस्कृतिक सम्पदाको चिनारी पर्यटकमार्फत विश्व बजारमा पुग्ने जनाइएको छ । त्यस्तै हालै बसेको कार्यपालिका बैठकले केन्द्र सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०८० पनि पारित गरेको हो । उक्त केन्द्रमा हाल तीन जना कर्मचारी खटाइएको छ भने पर्यटनसँग सम्बन्धित पालिका सम्पूर्ण स्थान तथा भूगोलबारे जानकारी दिइने पालिकाले जनाएको छ । पालिका अध्यक्ष केसीको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष विजय गुरुङले स्वागत तथा शिक्षा अधिकृत बलराम भुगाईले कार्यक्रम सञ्चालन गरेका थिए ।
 

१ महिना अगाडि

प्रतिक्रिया